काठमाडाैँका डिपार्टमेन्टल स्टाेरमा भेटिए म्याद नाघेका खाद्यवस्तु

काठमाडाैँ । काठमाडौँ उपत्यकाका ठूला डिपार्टमेन्टहरूमा म्याद सकिएका खाद्य सामाग्रीहरू भटिएको छ ।
सोमबार जिल्ला प्रशासन काठमाडौँं र वाणिज्य विभागको संयूक्त अनुगमनका क्रममा अनामनगरमा रहेको बिगमार्ट र पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा म्याद सकिएका खाद्य सामाग्रीहरू भेटिएका हुन् । अनामनगरमा रहेको बिगमार्टमा अनुगममनका क्रममा केही उपभोग्य सामाग्रीहरूको म्याद गुर्जिएको फेला परेको काठमाडौँंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
त्यस्तै, बिगमार्टमा व्यवसायी दर्ता प्रमाणपत्र नवीकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरेको र सात दिन भित्र वाणिज्य विभागमा सम्पर्क राख्न निर्देशन दिएको उनले बताए । पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा पनि म्याद गुज्रिएका सामाग्री फेला परेको र व्यवसायी दर्ता प्रमाणपत्र नवीकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरिएको पौडेलले जानकारी दिए ।
यसअघि संयुक्त अनुगमन टोलीले कलंकीस्थीत भाटभटेनीमा अनुगमन गर्दा म्याद गुज्रिएको सामाग्रि फेला पारेपछि कारवाही गरेको थियो । उपभोक्ता संरक्षण ऐन अनुसार उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइए आगामी दिनमा कडा कारवाही गर्ने प्रशासन कार्यालयले जनाएको छ ।









