निर्माणाधीन पुलको बिम खस्दा ८ कामदार घाइते, २ गम्भीर

काठमाडाैँ । पाल्पा र स्याङ्जाको सीमा नदीमा निर्माणाधिन पुलबाट खसेर ८ कामदार घाइते भएका छन् । निर्माणाधीन पुलको बीम खसेपछि उनीहरु पुलबाट खसेका थिए । पाल्पाको रामपुर–६ र स्याङजाको चापाकोट–८ जोड्ने मोटरेबल पुल निर्माणमा उनीहरु खटिएका थिए । आइतबार साँझ पुलको बीम जोड्ने क्रममा बीमसँगै उनीहरु ९ मिटर माथिबाट खसेका थिए ।
इलाका प्रहरी रामपुरका अनुसार घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षका रामनिवास कुमार पटेल, बारा हरिहरपुर–८ का २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षका धनन्जय ठाकुर, सोही स्थानका २१ वर्षका सुजितकुमार यादव, ४८ वर्षका रघुनाथ राय, २५ वर्षका अनुपकुमार राय र क्रेन चालक मिरासन गाउँपालिका–४ गोरखाका २३ वर्षका सिर्जन परियार रछन् ।
घाइतेमध्ये रामनिवास कुमार पटेल र धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको छ । अन्यको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भएको छ ।









