प्रमुख दलका शीर्ष नेतालाई भोट नदिएर सजाय दिउँ : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरूको सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् । काठमाडौँ क्षेत्र नम्बर १ ले आज आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बीचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको टिप्पणी गरे । ‘अहिले प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापका कारण देश गम्भीर संकटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अंगहरुबीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ,’ उनले भने, ‘लामो समयदेखि संसद् भूमिकाविहीन छ । संसद् केही राजनीतिक दलहरूको अकर्मण्यताका कारण बन्द छ । संसद् संसद्जस्तो छैन । अदालत, अदालत जस्तो छैन । जनताले सरकार भएको अनुभूति गर्न नपाएको अवस्था छ ।’

प्रमुख दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाउँदा वैदेशिक सम्बन्ध खल्बल्लिन पुगेको उनले आरोप छ । साथै उनले नेताहरूले केटाकेटी व्यवहार देखाउँदा मुलुकको राष्ट्रियतामाथि नै आँच आउन पुगेको बताए । ‘शक्तिराष्ट्रहरूले अहिलेसम्म यो गर वा त्यो गर भनेका थिएनन्,’ अध्यक्ष लिङ्देनले भने, ‘यो सब नेताहरूले केटाकेटी व्यवहार देखाउँदाको समस्या हो ।’

प्रमुख दलका नेताहरूको आत्मसमर्पणवादी सोच र दृष्टिकोणको पछि लागेर देश बन्छ भनेर आशा राख्नु मूर्खता हुने उनले बताए । ‘भोट दिनु भनेको छोरी दिनुभन्दा ठूलो कुरो हो, एउटा छोरी अर्काको हातमा दिँदा कतिचोटी सोच्नुहुन्छ, तपाईँको छोरी झुक्किएर लफंगाको हातमा पर्‍यो भने छोरीले दुःख पाउँछे,’ अध्यक्ष लिङ्देनले भने, ‘तर तपाईँले दिएको एउटा भोट गलत पार्टी र नेतालाई परे देशले दुःख पाउँछ, आज त्यही भइरहेको छ, प्रमुख दलका शीर्ष नेतालाई भोट नदिए सजाय दिउँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =