काेराेनाले राेकिएकाे फ्लाेरा एक्स्पाे २ वर्षपछि सुरू

काठमाडौँ । पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्ले २३औँ फ्लोरा एक्स्पो–२०७८ ललितपुरको जावलाखेलस्थित खेलमैदानमा बिहीबारदेखि सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आयोजित उक्त एक्स्पो यही चैत १३ गतेसम्म सञ्चालन हुनेछ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण विगत दुई वर्षदेखि बन्द रहेको सो एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरूको समेत प्रर्दशनी गरिएको एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पो आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सञ्चालन भएको एक्स्पोमा ६२ वटा स्टल रहेका छन् । ती स्टलमा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, कृषि औजार उपकरण, थोपा सिँचाइ प्रविधि र आधुनिक पुष्पखेती प्रविधिको प्रदर्शन रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

एक्स्पोमा ४५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने तथा रु ७५ लाखसम्मको आर्थिक कारोबार हुने बताइएको छ । मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवालाई स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधामा प्रथम हुनेलाई नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ ।

कोरोना भाइरस सङ्क्रमणकै कारण यस क्षेत्रका व्यवसायी अन्य पेशामा पलायन हुँदा गत वर्ष रु ३८ करोडको फूल आयात गर्नुपरेको थियो भने रु ४२ लाखको मात्रै निर्यात गरिएको फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले पुष्पखेती गर्दै आएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =