कारोना बीमा दाबीको १ अर्ब चुनावअघि निकासा गर्ने सरकारकाे संकेत

काठमाडौँ । सरकारले चुनावअघि नै कारोना बीमाको दाबी रकम मध्ये १ अर्ब रुपैयाँ चुनावअघि नै निकासा दिने संकेत देखाएको छ ।
बीमाको दाबी गरेका सेवाग्राहीलाई चुनावअघि नै वितरण गर्ने गरी सरकारले १ अर्ब रुपैयाँ निकासा दिने र बीमा कम्पनीहरुले थप १ अर्ब गरी कुल २ अर्ब रुपैयाँ भुक्तानी गर्नेबारे छलफल भइरहेको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले मकालु खबरलाई बताए ।
‘चुनाव अघि नै १ अर्ब रुपैयाँ निकासा अर्थमन्त्रालयले दिने विषयमा भएको छलफलमा अर्थमन्त्री ज्यू सकारात्मक देखिनु भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘बीमा कम्पनीहरुले पनि १ अर्ब गरेर २ अर्ब रुपैयाँ भुक्तानी गर्ने विषयमा छलफल भएको हो । यसबारे लिखित निर्णय भएको छैन ।’
बीमाबापत कुल ११ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । बाँकी रकम मध्ये केही चुनावअघि निकासा गरी वितरण गर्दा सत्तासीन राजनीतिक दलप्रति सकारात्मक छाप पर्ने विश्वासका साथ सरकारले यसबारे छलफल गरिरहेकाे बुझिएकाे छ ।
कोरोना बीमा मापदण्ड–२०७७ अनुसार कोरोना बीमाको दाबी भुक्तानी १ अर्ब रुपैयाँसम्म बीमकले र १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्नु पर्ने छ ।
२ अर्ब रुपैयाँदेखिमाथि २ अर्ब ५० करोड रुपैयाँसम्म बीमक कम्पनीहरुले स्थापना गरेको महाविपत्ति पुल कोषमार्फत भुक्तानी गर्ने र २ अर्ब ५० करोड रुपैयाँभन्दा माथि ३ अर्ब ५० करोड रुपैयाँसम्म बीमा समितिले बेहोर्नु पर्ने व्यवस्था छ ।
कोरोना बीमाको दाबी भुक्तानीका लागि १ लाख ५९ हजार २ सय २५ जनाको दाबी परेको छ । यी दाबीमार्फत १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ ।
बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र महाविपत्ती पुल कोषबाट ३ अर्ब ५० करोड भुक्तानी भएको छ । त्यस्तै बीमा कम्पनीहरुले १ अर्ब २८ करोड ८१ लाख भुक्तानी गरेका छ । यसरी कुल ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ ।
अब १० अर्ब ६ करोड १५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । यसका लागि बीमा समितिले अर्थ मन्त्रालयलाई विभिन्न ४ ओटा विकल्प सुझाएको थियो । तीनै विकल्पहरु मध्येबाट छलफल गरेर सरकारले भुक्तानीका लागि आफ्नो दायित्वमा पर्ने रकम क्रमशः निकासा गर्ने अवधारणा अघि सारेको समितिले जनाएको छ ।
काराेना संक्रमण तीव्र भएकाे बेला २०७७ मा सरकारले याे बीमाकाे नीति ल्याएकाे थियाे । तर, दाबी भुक्तानी बढेर धान्न गाह्राे हुने भएपछि सरकारले काेराेना बीमा याेजना बन्द गरेकाे थियाे ।









