होलीमा मापसे गरेर सवारी चलाउने १०६ जना कारबाहीमा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १३०० बढी ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको छ ।

दुर्घटना रहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको थियो । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानहरूमा चेक प्वाइन्टहरू राखेर बिहानदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले रङ्गहरूको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्येनजर गरेर बिहानै देखि चेकप्वाइन्ट राखी चेकिङ्लाई कडा पारिएको बताए । उनले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए ।

‘बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०६ जनालाई कारबाहि गरेको छ ।’ एसएसपी जोशीले भने, ‘बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकहरूलाई कारबाही र होल्ड गरिएको छ ।’

उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाइकल हुईक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी बढाई कडाईका साथ कारबाही गरिएको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =