महिला तथा बालबालिकाकाे अधिकार कार्यान्वयनमा उपराष्ट्रपतिकाे जाेड

काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिका सम्बन्धी हकअधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्त रूपमा मंगलबारबाट काठमाडौँमा शुरू भएको दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले महिला सशक्तीकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु सबै सरोकारवालाको चासोको विषय हुनुपर्ने र संविधानले सुनिश्चित गरेको अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
उनले राज्यका विभिन्न निकायमा महिलाको पहुँच र सहभागिता बढ्दै जानु गणतन्त्रका उपलब्धी भएको बताए । विश्वव्यापी रूपमा पछिलो समय बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको उनले बताए । उनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको धारणा राखे ।
कार्यक्रमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए । उनले महिला अधिकार स्थापित गर्न निरन्तर रूपमा अनुगमन र सकारलाई आवश्यक सुझाव दिँदै आएको जानकारी दिए ।
महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापीरूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुईदिने दक्षिण एसियाली सम्मेलन शुरू भएको हो । सम्मेलनमा महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी गरी विभिन्न देशका १०० जना सहभागी रहेका छन् ।









