सत्तारूढ दलबीचको दूरी बढ्दो, कांग्रेसले थाल्यो एमालेसँग छलफल

काठमाडौँ । एमसीसीको विषयमा सत्ता गठबन्धनबीच दूरी बढेको आकलन भइरहेका बेला सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस मुख्य विपक्षी दल नेकपा एमालेसँग पनि छलफलमा जुटेको छ ।

एमसीसी अनुमोदन गर्ने नगर्ने भन्नेबारे सत्तारूढ दलहरूबीच द्वीपक्षीय तथा बहुपक्षीय छलफल भइरहेका बेला कांग्रेसका नेताहरूले एमालेसँग छलफल चलाएका हुन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन नगर्ने र गर्नैपरे बरू सरबारबाट बाहिरिने सम्मको तयारी गरेपछि प्रधान मन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै निर्देशनमा कांग्रेस नेताहरूले एमालेसँग छलफल थालेका हुन् ।

स्रोतका अनुसार कांग्रेस नेता डा. मिनेन्द्र रिजालले बिहीबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनी ओलीलाई भेट्न बालकोट पुगेका थिए भने सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीलाई टेलिफोन गरेका थिए । दुबै नेताहरूसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले पहिले गठबन्धनका दलहरूको बैठकको निर्णय कुर्ने बताएका देउवानिकट एक नेताले बताए ।

प्रधान मन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गत शनिबार एमसीसी टेबुल गर्ने, माओवादी र एकीकृत समाजवादीका सांसदले मतदानमा अनुपस्थित भएर अनुमोदनका लागि सहयोग पुर्‍याउने र प्रधानन्यायायधीश चोलेन्द्र शमसेर राणाविरुद्ध महाअभियोग दर्ता गर्ने समझदारी बनेको देउवानिकट नेताहरूको दाबी छ ।

तर, माओवादी र एकीकृत समाजवादीले त्यो समझदारी तोडेको देउवाको ठहर छ । विहीबार बेलुका ५ बजेका लागि सत्तारूढ गठबन्धनको बैठक बोलाइएको छ भने त्यसअघि प्रधान मन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड तथा प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कुराकानी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *