निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अब ढिलो हुँदैन : पर्यटनमन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै थाल्ने बताएका छन् । अब तत्कालै रुख कटानको काम पनि द्रुत गतिमा सुरु गरिने उनको भनाइ छ । उनले अब निजगढ विमानस्थल निर्माणमा विलम्ब नहुने जिकिर गरे । उनले बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्ने बताए ।
बुधबार बाराको सिमरामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् ।
‘निजगढ अन्तर्राष्ट्रिय विमानस्लथको काम अघि बढाउनुपर्यो भनेर माधव नेपालले मलाई निर्देशन दिइराख्नुभएको थियो,’ मन्त्री आलेले भने, ‘अस्ति मात्रै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाज्यूसँग बालुवाटारमा गठबन्धनका सबै नेताहरुको उपस्थितिमा यो विषयमा छलफल गर्नुभएको थियो, सबै सरोकारवाला मन्त्रीहरुसँग बसेर छलफल भएको थियो । त्यतिबेला छिट्टै निजगढमाा जानुपर्छ भन्ने कुरा भएको थियो । हिजोमात्रै माधव नेपाल, रामचन्द्र पौडेललगायत धेरै माननीयज्यू तथा मन्त्रीहरु रु यहाँ स्थलगत अवलोकनको लागि आउनुभयो । प्रचण्डज्यू पनि आउने कार्यक्रम थियो, अर्थमन्त्री पनि आउने कार्यक्रम थियो । कार्यव्यस्ताको कारण उहाँहरु आउन सक्नुभएन, तर जे आवश्यकत्ता पर्छ, बजेटको चिन्ता नगर्नुहोस भनेर मलाई अर्थमन्त्रीले भन्नुभयो ।’
मन्त्री आलेले वरिष्ठ नेता, मन्त्री, सांसद, मिडियाकर्मीको उपस्थितिमा हिजोमात्रै स्थलगत अवलोकन गरिएको सुनाए । ‘पहिले म वनमन्त्री हुँदापनि आएको थिएँ,’ उनले भने, ‘त्यो बेलामा पनि कसरी अघि बढाउने भन्ने थियो । त्यतिबेला पर्यटमन्त्री भानुभक्त ढकालसँग म यहाँ आएको थिएँ, रुख कटान गर्न पहल गरिदिऊँ भन्नुभएको थियो, त्यतिवेला मैले बजेटको सुनिश्चितता हुनुपर्यो भनेको थिएँ । बजेटबिना रुख काटेर हुँदैन भनेको थिएँ । त्यतिवेला म वनमन्त्री थिएँ । मैले हिजोमात्रै टाँगिया बस्तीमा भनेको छु अब जग्गा अधिकरण गरेर अघि बढ्नुपर्छ, बरु यसको लागि उहाँहरुलाई जडिबुटीमा भएको ८०० सय विघा छ, त्यसमा उचित स्थानान्तरण हुन्छ । त्यहाँको जनताले मुआब्जासँगै पूरानो काठ अन्यत्र लैजान पनि कठिन छ । तुरन्त फाष्ट ट्रयाकमा काम गर्न भनेको छु । थुप्रै कुराहरु छन्, फाष्ट ट्रयाकको माध्यमबाट रुख काट्ने कुरा भएको छ । अब विलम्ब हुँदैन् । बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्छ ।’
उनले आफू काम गर्नको लागि मन्त्री भएको भन्दै अरुले पाँच वर्षमा गर्न नसकेको काम पाँच महिनामा गरेर देखाएको पनि दाबी गरे । उनले भने, ‘पाँच वर्षमा कुनै मन्त्रीले गर्न नसकने काम मैले ५ महिनामा गरेको छु । टाँगिया बस्तीका सबै ढुक्क हुनुहोस्, म यो काम अघि बढाउँछु भनेर हिजो भनेको छु, माधव नेपालले त सुरुदेखि नै विमानस्थल निर्माणको कुरा गर्दै आउनुभएको छ, अब निर्माण प्रक्रिया सुरु हुन्छ, माधव नेपालको त यो ड्रिम प्रोजेक्ट हो । अब भन्ने मात्रै होइन, एक्शनमा जाने हो ।’
उनले निजगढ विमानस्थलको लागि अर्थमन्त्री जनार्दन शर्माले बजेटको व्यवस्था गर्छु भनेर भनेको पनि सुनाए । उनले थपे, ‘प्रधानमन्त्रीज्यूले पनि यही कुरा भन्नुभएको छ । अब हामी रुख हटाउने काममा लाग्छौं । अर्कोतर्फ टेण्डर गरेर काम अघि बढाउँछौं । हामीसँग धेरै खालका मोडेल छन्, कसरी बनाउने भन्नेबारे छलफलमा छौँ । नेपाल सरकारको बजेटबाट बनाउने हो भने क्यानअन्तर्गत अघि बढ्छौँ । बाहिरको पैसा पनि ल्याएर काम गर्न सक्छौँ ।’
उनले चुनावभन्दा अघि नै वस्तीको उचित स्थानान्तरणको काम सुरु हुने विश्वास दिलाए । उनले भने, ‘यहाँ स्थलगत अवलोकनमा आउनुभएको नेताहरुले एक महिना भन्दै हुनुहुन्छ । म १५ दिनमै काम अघि बढाउँछु । चुनाव आयो भनेर काम नै नगर्नु त ? मैले क्यासिनोहरुले तिर्न बाँकी रहेको करोडौं बक्यौता रकम उठाएको छु ।’
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम आफ्नो पालामा सुरु भयो भने ५/६ वर्षमा सम्पन्न भैसक्ने विश्वास दिलाए ।









