न्यायको बैरी (कविता)
मैले सुनेको-
समानता न्याय हो,
समता न्याय हो,
र, प्राप्ति न्याय हो।।
ए गणित! तैँले-
उचाइलाई सानो- ठूलो,
तौललाई घटी- बढी,
र,
उमेरलाई कान्छो- जेठो बनाइस् ।
हो! तैँले मानिसलाई –
धनी र गरिबमा,
योग्य र अयोग्यमा,
जान्नेलाई ठाउँ नपाउनेमा,
ठाउँ पाउनेलाई जान्दै नजान्नेमा,
हुने र नहुनेमा बाँडिस् ।
यसैले त- मानिस-मानिससँगै लडे,
मानिसले मानिसलाई लुटे,
मानिसले मानिसलाई अनेक हिसाबले बाँडे,
किनभने तैँले भाग लगाउन सिकाइस् र
सिकाइस् जोड्न, घटाउन र गुणा गर्न ।
तैँ होइनस् मानिसलाई
समयको गन्ती गराउने ?
र,
प्राचीन- माध्यमिक र आधुनिकमा
दुनियाँलाई बन्डापत्र गरिदिने ?
आफ्नै पुर्खालाई पाखे, गँवार र असभ्य बनाउने ?
तेरै कारणले आज-
हजारौँ मानिसहरू मान्छेबाट –
अमान्छेमा गणना हुन्छन्,
अयोग्यहरू नै योग्यमा छानिन्छन्,
अन्यायीहरू न्यायी गन्ती हुन्छन्,
न्यायीहरू अन्यायी गन्ती हुन्छन्,
अधर्मीहरू धर्मी कहिन्छन्, र
धर्मीहरू अधर्मी भाग लाग्छन् ।
यसैले- हेर ! गणित
तँ नै न्यायको बैरी होस् ।
त नै अन्यायको बिउ होस्, झगडाको निहुँ होस् ।
शून्यबाट केही आउँदैन भनेर
कपिलले भन्दाभन्दै तैँले अङ्ककै पछाडि
अनन्त शून्यहरू राख्ने चक्रव्यूह रचिस्
र शून्यको कुनै मूल्य हुन्न भन्दै
एकलाई अनेक होइन अनन्ताङ्क बनाइस्
हो- गणित तँ पापी होस् र न्यायको शत्रु होस् ।।