छैन सिटामोल, फार्मेसीमा जाँदा रित्तो हात

काठमाडाैँ । काठमाडौँ बसन्तपुरकी रामवती महर्जन छेउछाउका औषधि पसलमा सिटामोल नपाएपछि टेकुस्थित प्रकाश फर्मामा पुगिन् । तर, त्यहाँ पनि उनले पाइएन् । भनिन्, ‘यताकै ठूलो फार्मेसी हो यो। अन्त नपाएका औषधि पनि पाइन्थ्यो ।’

फार्मेसी सञ्चालक प्रकाश देवकोटाका अनुसार दैनिक धेरै ग्राहकलाई खाली हात फर्काउनुपर्छ । ‘ओमिक्रोनको दर ह्वात्तै बढेपछि सिटामोलको माग निकै छ। १-२ प्याकेट ल्याएर बाँड्ने गरेका छौं’, उनले भने, ‘पछिल्लो एक महिनादेखि नै सिटामोल सटेज छ । होलसेलले पठाउँदै पठाउन्न ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको गेटमै रहेका शुक्र फार्मेसी, रेमिडियन फार्मेसी र शास्त्री फार्मेसीमा पनि सिटामोल पाइएन । एक युवती हतारहतार शास्त्री फार्मेसीमा पसिन् । उनले सिटामोल माग्दा व्यवसायीले डाक्टरको प्रेस्क्रिस्पन मागे। फार्मेसी सञ्चालकले दुई सातादेखि सिटामोल नआएको बताएन् । ‘सयौँ आउनुहुन्छ कहाँबाट पुर्‍याउनु ? डाक्टरको प्रेस्क्रिप्सन भएकालाई एकरएक पत्ता दिने गरेका छौं’, उनले भने ।

काठमाडौं उपत्यकाको प्रायः औषधि पसलमा सिटामोल पाइँदैन । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका कर्मचारी भोला सिग्देलले सर्वसाधारणले आत्तिएर धेरै सञ्चय गर्न थालेको बताए । ‘जताततै हारालुछ छ सिटामोलको’ उनले भने ।

सोविका मेडिकल हल महाराजगन्जकी प्रतिभा हाडाको फार्मेसीमा पनि सिटामोल नभएको दुई साता भयो । भनिन्, ‘भएर नदिन त कसलाई मन हुन्छ र ? कोही-कोही त सिटामोल मिसिएको अरू औषधि भए पनि दिनु न भन्छन् । के गर्ने ?’

दिनमा २ सयभन्दा बढी ग्राहक सिटामोल खोज्न आउने गरेको चामुण्डा फार्मेसी सिनामंगलका माधवप्रसाद घिमिरेले बताए । ‘सिटामोल अभाव हुनुको कारण अहिलेको कोभिड हो । भाइरल ज्वरो साथै मौसम चेन्ज भएको कारण पनि कोभिड बढिरहेको छ’, उनले भने, ‘यसको सामान्य औषधि नै सिटामोल हो । धेरै जनालाई त सिटामोल खाएरै कोभिड निको हुन्छ । सिटामोल जुनसुकै अवस्थामा पनि चाहिन्छ । ज्यान दुखेदेखि लिएर घाँटी, टाउको, ढाड दुखेको बेला पनि प्रयोग गर्न सकिन्छ ।’ -अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *