हिउँमा फसेका बाबुछोराको अझै उद्धार हुन सकेन

ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुन सकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी फर्किएको छ ।

हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्टर गएको थियो । पहिलो पटक पुग्दा ठाउँ पत्ता नलागेको र दोस्रो पटक स्थानीयवासीलाई लिएर जाँदा मौसममा खराबी आएकाले उद्धार गर्न नसकिएको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए  । उद्धारका लागि भोलि पुनः हेलिकोप्टर लैजाने तयारी भएको शेर्पाको भनाइ छ ।

‘हामी दुई पटकसम्म सो क्षेत्रमा पुग्यौँ, पहिलो पटक ठाउँ पत्ता लागेन, दोस्रो पटक जाँदा कुहिरो लाग्यो, अब भोलि पुनः जान्छौँ’, शेर्पाले भने । हिउँमा फसेकाहरू बेलाबेलामा फोन सम्पर्कमै रहने गरेकाले ज्यान जोखिममा नहोला भन्ने अनुमान रहेको शेर्पाको भनाइ छ ।

मिक्वाखोला घर भएका अन्दाजी ५५ वर्षका लाक्पाटासी शेर्पा र उनका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका हुन् । चौँरी गोठ सार्ने क्रममा उनीहरू हिम पहिरामा परेका थिए । फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओडारमा आड लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =