मुक्तिनाथ विकास बैंकद्वारा १८ प्रतिशत लाभांश पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले पोखरामा आफ्नो १५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष ०७७÷०७८ को मुनाफाबाट सेयर धनीहरूलाई १८.५० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
उक्त लाभांश मध्ये १७.५७५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुने बैंकले जनाएको छ ।
बैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राखेका थिए । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपाल भरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंककोएटिएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ ।








