नेकपा एस प्रवेश गर्लान् इटहरीका मेयर चौधरी ?

विराटनगर । एमाले विवादको मौका छोप्दै सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई नेकपा एकीकृतमा प्रवेश गराउने कसरत सुरु भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलगायतका नेताहरूले उनको निवासमै पुगेर भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटमा नेता नेपालका साथमा अन्य एसका नेताहरू गएको पाइएको छ । सुनसरीको ईनरुवामा नेकपा एमालेको जिल्ला कमिटीको बैठकमा माइक खोसाखोस भएपछि नेकपा एसका नेताहरू चौधरीलाई आफ्नो पार्टीमा प्रवेश गराउने कसरतमा लागेका हुन् ।

सुनसरीको चतरा जाने क्रममा शुक्रबार नेता नेपालले चौधरीलाई भेटेका हुन् । नेकपा एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयरमा विजयी भएका चौधरी हक्की स्वाभावको भएकाले पनि उनलाई जसरी पनि आफ्नो पार्टीमा ल्याउने रणनीतिमा एसका नेताहरू लागेको मेयर निकट स्रोतले जनाएको छ । चौधरीले माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई शुक्रबार आफ्नो निवासमा स्वागत गरेको स्वीकार गरेका छन् ।

आन्तरिक छलफल भएपनि कुनै पार्टी परिवर्तन गर्नेबारेमा आफूले कुनै निर्णय नलिएको चौधरीले बताएका छन् । ‘अहिले हल्लामात्र चलाइएको छ,’ चौधरीले भने, ‘जसरी बजारमा हल्ला चलाइएको छ‚ हल्ला चलाइएजस्तो कुनै पनि कुरा भएको छैन ।’

नेकपा एस मोरङका उपसचिव ओसिम आलमले माधवकुमार नेपालसँग भेट भएको र एमालेभित्र देखिएको वितृष्णाको बारेमा चौधरीले नेपालसँग गुनासो राखेको बताए । ‘एमालेलाई एउटा व्यक्तिको निजी कम्पनीजस्तो बनाउन खोजिएको बारेमा मेयर साबले अध्यक्ष नेपाललाई गुनासो गर्नुभएको थियो,’ भेटघाटमा सहभागी आलमले भने, ‘मेयर साबसँग भेटघाट र छलफल भएको हो, एमालेभित्रको समस्यका बारेमा मेयर साबले आफ्नो धारणा राख्नुभएको थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =