चीनले दियो पोखराका चार स्कूललाई इन्टरनेट र इन्भर्टर

पोखरा । चिनियाँ राजदूतावासले पोखराका ४ स्कूललाई प्रविधिमैत्री बनाउने घोषणा गर्दै एक वर्षसम्म निःशुल्क इन्टरनेट र इन्भर्टर सहयोग गरेको छ । नेपाल-चीन जनमैत्री संघ पोखराको समन्वयमा दूतावासले सहयोगको सम्झौता गरेको छ ।
यहाँका जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा अनलाइन कक्षा सञ्चालन गर्न मिल्ने गरी इन्टरनेट र अन्य प्रविधि सहयोग गर्ने बताइएको छ । मंगलबार चिनियाँ राजदूत हउ यान्कीले भर्चुअल रुपमा सम्झौता गरेकी हुन् ।
सबै कामका लागि करिब २० लाख खर्च लाग्ने संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।
ईन्टरनेटका लागि आवश्यक पर्ने सबै उपकरण मंगलबार नै विद्यालयहरुलाई हस्तान्तरण गरिएको छ । दोस्रो चरणमा थप ४ स्कूललाई पनि सहयोग गरिने बताइएको छ । संघले पोखराका सबै सरकारी स्कूलमा निःशुल्क इन्टरनेट पुर्याउने जनाएको छ ।
राजदूत यान्कीले ईन्टरनेट दूर शिक्षाका लागि महत्वपूर्ण भएको बताउनुका साथै कोभिडका बेला धेरै विद्यार्थी पढ्नबाट वञ्चित भएकाले दूतावासले यसमा जोड दिएको बताइन् ।
‘नेपाल र चीन एक असल छिमेकी र सुख-दुःखको साथी हो । यसलाई कायम राखिराख्न विद्यार्थीले नेपाल-चीन इतिहास पढ्नुपर्छ,’ उनले भनिन्, ‘नेपाललाई दुःख परेका बेला चीन सधैँ साथमा छ । यो एउटा उदाहरण पनि हो ।’
गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारको जोड रहेको बताए ।
उनले कोरला नाका खोल्न चीनको सहयोगसमेत मागे । ‘गण्डकीले कोरला नाकालाई लाइफलाइनको रुपमा लिएको छ । कोभिडपछि नाका पूर्ण रुपमा बन्द छ,’ उनले भने, ‘नाका खोल्नका लागि पहल गर्न अनुरोध गर्छु ।’ उनले कोरला नाका अवलोकनका लागि पनि यान्कीलाई निम्तो दिएका छन् ।








