एयरपोर्टमा रक्सी रोकिँदा हातपात गर्ने सीईओ रेग्मीलाई कारबाहीको तयारी

काठमाडौँ । भाइटीकाको दिन पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी लन्डनबाट नेपाल फर्किँदै थिए । वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किएका उनले रक्सीका ६ वटा बोतलसमेत सँगै लिएर आएका थिए ।

उनले बोकेको रक्सीका बोतलबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा सोधपुछ गरियो । आफूले बोकेको रक्सीबारे सोधपुछ हुन थालेपछि रेग्मीले ‘म पर्यटन बोर्डको सीईओ हुँ’ भनेको तर आफूहरूले ‘कानून सबैका लागि बराबर’ भएको बताएपछि रेग्मी आक्रोशित भएका भन्सारका कर्मचारीहरू बताउँछन् ।

भन्सार कर्मचारीहरूले नछाडेपछि रेग्मीले आफूले पर्यटन व्यवसायीहरूले किनेको रक्सी बोकेको जिकिर गरे । तर जेसुकै बहाना भएपनि भन्सार सुविधामा पाउनेभन्दा बढी रक्सी लैजान नपाइने भन्दै कर्मचारीले रक्सी रेग्मीलाई लैजान दिएनन् ।

पर्यटनमन्त्री प्रेमबहादुर आले र सचिव यादव कोइरालासँगै नेपाल फर्किएका रेग्मीले उनीहरूको नाम पनि पटक–पटक लिए । यद्यपि उनको केही सीप लागेन । यसपछि उनी गाली र हातपातमै उत्रिए । उनले जाँचमा रहेका नासु सुमन थापालाई एक झापड हानेका थिए । थापाले नै ६ बोतल रक्सी बोकेको देखेपछि रेग्मीलाई कतिजना हुनुहुन्छ ? भनेर रोकेका थिए ।

झिटीगुण्टा सुविधाअनुसार नेपाल आउने जोसुकै यात्रुले आफ्नो साथमा एक लिटरसम्मको एक बोतल रक्सीको मात्रै भन्सार छुट सुविधा पाउने तर, ६/६ वटा बोतल देखेपछि रेग्मीमाथि सोधपुछ गरिएको भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसीले बताए ।  ‘हामीले पनि नियमानुसार त गर्नैपर्यो । भन्सारले त्यही गरेको हो । नियमको लापना गरेको हो’ केसीले भनेका छन् ।

त्यो दिन मन्त्री आले र सचिव कोइराला विशिष्ट पाहुनाहरूको ‘रूट’ हुँदै बाहिरिएका थिए भने रेग्मी सर्वसाधारणले प्रयोग गर्ने ‘रुट’ बाट बाहिरिँदै थिए । भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले नियम सबैले मान्नुपर्ने बताए । ‘को व्यक्ति कुन कार्यालयमा कुन पदमा छन् भन्ने कुरा हाम्रो सवाल होइन,’ भट्टराईले मकालुखबरसँग भने, ‘यहाँको कानून मान्नुपर्छ । नमान्नेलाई हामी मान्न लगाउँछौँ ।’

रेग्मीले ल्याएको रक्सी जफत गर्नुका साथै भन्सारका कर्मचारीमाथि दुर्व्यवहार गरेपछि ५ हजार जरिवानासमेत गरिएको सूचना अधिकारी केसीले जानकारी दिए । अरुको सामान भन्दै तोकिएभन्दा बढी झिटीगुण्टा बोकेर ल्याउनेलाई छोड्ने हो भने विमानस्थलको यात्रुले ल्याउने सामान जाँच्न भन्सार बस्नुको औचित्य नै समाप्त हुने भन्सारका एक अधिकारी बताउँछन् । उनले भने, ‘यही भन्ने हो भने त यहाँको भन्सारको कुनै औचित्य नै रहेन नि । कार्यालय यसैका लागि बसेको हो ।’

रेग्मीले भने आफूले ‘बाइ वान् गेट वान् फ्री’ (एउटा किन्दा अर्को उपहारमा पाइने)को रक्सी किनेर नेपाल आएको दाबी गरे । उनले विमानस्थलमा भन्सारका कर्मचारीहरूसँग पनि यही बताएका थिए ।

रेग्मीले भने आफूलाई फसाउन रक्सी खाएको भन्ने गलत हल्ला फैलाइएको बताएका छन् । तर विमानस्थल स्राेतकाअनुसार त्यही समयमा स्वास्थ्य जाँच गराउँदा उनले जाँडरक्सी खाएको पुष्टि भएको थियो । तर विशिष्ट व्यक्ति भएको भन्दै उनलाई छोडिएको विमानस्थल स्राेतले जानकारी दिएको छ ।

नेपाल पर्यटन बोर्डजस्तो आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनुशासन सिकाउने संस्थाका प्रमुख यस्तो विवादमा तानिएपछि उनको आलोचना शुरू भएको छ ।

कारबाहीको तयारी

पर्यटन मन्त्रालयले रेग्मीलाई कारबाहीको तयारी गरेको छ । मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीकाअनुसार रेग्मीलाई ३ दिने स्पष्टीकरण सोध्ने तयारी छ । ‘स्पष्टीकरण पत्र तयारी अवस्थामा छ,’ उनले मकालुखबरसँग भने, ‘उहाँलाई आज तीन दिने स्पष्टीकरण सोधिँदैछ । यो मन्त्रीज्यूको निर्देशनमा नै गरिएको हो ।’

सोमबार नै स्पष्टीकरण आधिकारिक रूपमा पठाउने भनिएपनि समय घर्किएपछि पठाउन नसकिएको र आज पठाइने सुवेदीले बताए । रेग्मीले चित्तबुझ्दो जबाफ नदिए कारबाही गर्ने मन्त्रालय स्रोतले बताएको छ । मन्त्री आलेले नै चित्तबुझ्दो जबाफ नआए कारबाही गर्ने बताएका छन् । मन्त्री आलेले सीईओ रेग्मीलाई मौखिक रूपमा ‘के भएको थियो ?’ भनेरसमेत सोधेका थिए । त्यस त्यस क्रममा समेत सीईओ रेग्मीले चित्तबुझ्दो जबाफ नदिएको मन्त्री निकट स्रोतले जनाएको छ ।

रेग्मी यसअघि पनि सामाजिक सञ्जालमा गरेकाे टिप्पणीका कारण आलोचनामा आएका व्यक्ति हुन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बारेमा गरेको टिप्पणीको आलोचना भएको थियाे ।

०००

भन्सार ऐन, २०६४ अनुसार एक लिटरसम्मकाे मदिराको बोतल ल्याउन पाइन्छ । ऐनको दफा ९ (३) मा भनिएको छ— ‘विदेशबाट फर्किएका नेपाली यात्रुहरूले मदिरा एक लिटरसम्मको बोतल ल्याउन पाउँछन्, जसमा भन्सार महसुल लाग्दैन ।’

विदेशबाट फर्किनेले के के ल्याउन पाउँछन् र कति भन्सार लाग्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =