‘ब्राजिलमा लोकतन्त्र मरिरहेको छ’

सेनाका पूर्व कप्तान जेर बोल्सोनारो ब्राजिलको सत्तामा आउनासाथ विश्लेषकहरूले विश्वकै पाँचौँ ठुलो लोकतन्त्रलाई यो नेतृत्वले गम्भीर चुनौती पैदा गर्न सक्ने आकलन गरेका थिए । नभन्दै ती आकलनहरू यथार्थमा परिणत हुने बाटोमा छन् । राष्ट्रपति कार्यालयमा प्रवेश गर्नासाथ बोल्सोनारोले ब्राजिलको राजनीतिमा सैन्य हस्तक्षेप हुनुपर्ने, संसद् र सर्वोच्च अदालत बन्द हुनुपर्ने लगायतका माग राख्दै प्रदर्शनमा उत्रिएका मानिसहरूको पक्षधर भएर लागे ।

सत्तारोहण गरेको केही समयपछि उनले ब्राजिलीयन सरकारका उच्च पदहरूमा रूपमा सैनिकको ठुलै जत्थालाई ल्याए । देशको निर्वाचित प्रणालीलाई संरचनागत रूपमा अवमूल्यन गर्ने काम गरे । गत महिना बोल्सोनारोले सर्वोच्च अदालतका एकजना न्यायाधीशको नामै लिएर उनको फैसला अस्वीकार गर्ने आफ्ना समर्थकहरूलाई बताएका थिए ।

अमेरिकामा भएको विकासक्रमले बोल्सोनारोको आगमनले ‘आगोमा मट्टितेल थप्ने’ काम गरेको छ । गत जनवरी ६ मा अमेरिकाको क्यापिटल हिलमा हुलदङ्गा हुँदा बोल्सोनारोका छोरा इदुआर्दोले क्यापिटल हिलभित्रका सबै प्रहरीलाई मार्नुपर्ने बताएका थिए ।

बोल्सोनारोले सन् २०२० को अमेरिकी चुनावमा धाँधली भएको बताउँदै आएका छन् । यो कुरा उनले हालसालै ब्राजिल भ्रमणमा आएका अमेरिकी सुरक्षा सल्लाहकार ज्याक सुनिभानसँग समेत दोहोर्‍याएका थिए ।

ट्रम्प शैली सिकेकाले बोल्सोनारोले सन् २०२२ को राष्ट्रपतीय चुनावको नतिजा स्वीकार गर्ने सम्भावना छैन । जनवरी ६ को क्यापिटल हिलजस्तै हुलदङ्गा दोहोरिने सम्भावना छ । यदि देशले त्यसको परिणामलाई बेवास्ता गरेपनि यसको गम्भीर खतरा लोकतन्त्रमा हुनेछ ।

भेनेजुएलाजस्तो ध्वस्त हुन सक्छ‚ जहाँ लोकतन्त्र क्रमशः खिइँदै गएर बिना कुनै प्रश्न तानाशाही शासकको आदेशमा लोकतन्त्र दबिएको छ । लोकतान्त्रिक मगजका उम्मेदवार नयाँ कार्यकाल चलाए पनि पश्चिमी गोलार्द्धको दोस्रो ठुलो लोकतन्त्रको पश्चगमनलाई पुरानो लयमा फर्काउन धेरै लामो समय लाग्नेछ र यो कठिन काम हुनेछ ।

ब्राजिलको लोकतन्त्र खियाउने घरेलु तनाव
बोल्सोनारो सत्तामा आएपछि ब्राजिली लोकतन्त्र धरापमा पर्दै जानुको एक प्रमुख कारण हो- सेनामा नागरिक नियन्त्रण नहुनु । सन् १९८० को दशकमा अन्त्य भएको सैन्य तानशाहभन्दा तीन दशकपछि पनि देशको सैन्य शक्तिले प्रशस्त राजनीतिक प्रभाव जमाएको छ । शताब्दीका सुरुवाती केही वर्षमा रक्षा मन्त्रालयमा नागरिक नेतृत्व चयन गरेर केही सैन्य प्रभाव कम गर्न सफल भएका थिए । तर, सन् २०१८ यता ब्राजिलका सबै रक्षा मन्त्री त्यहाँका जर्नेलहरू मात्र भएका छन् । बोल्सोनारोको सरकारमा अहिले ६ हजारभन्दा धेरै सैनिक विभिन्न भूमिकामा छन् । यो पुरानो सरकारको भन्दा व्यापक वृद्धि हो । वर्तमान र भूतपूर्व सैन्य अधिकारीहरूले मन्त्रिपरिषद्का विभिन्न ओहोदा ओगटेका छन् ।

ब्राजिलका राजनीतिक तथा न्यायिक संस्थाहरूले समेत तानासाही उभारलाई रोक्न सकेका छैनन् । संसद् र सर्वोच्च अदालतले बोल्सोनारोका डरलाग्दा आचरणहरू रोक्न सकेका छैनन् । बोल्सोनारोले आफ्नो राष्ट्रपतीय पद भगवानले मात्रै लान सक्ने भन्दै आफ्ना समर्थकहरू मार्फत गराएका गलत प्रचारलाई उनीहरूले चिर्न सकेका छैनन् ।

धेरै ब्राजिली नागरिकले बोल्सोनारोले ‘कू’ गर्न सक्ने धारणा राख्छन् । तर महाअभियोग अझै असम्भव देखिन्छ । बरु बोल्सोनारोले उल्टै राजनीतिक संस्कार बदल्न सफल भएका छन् । जस्तै, संसद् प्रमुख र महान्यायाधिवक्ता नियुक्ति गरेर राष्ट्रपतिले बिना कुनै कानुनी रोकावट शासन गर्ने प्रणाली उनले सुरु गरेका छन् । यदि सन् २०२२ मा बोल्सोनारोले चुनाव हारे पनि उनीपछिका राष्ट्रपतिले त्यही पद्धति अँगाल्न सक्छन् ।

ब्राजिलका राजनीतिक तथा न्यायिक संस्थाहरूले समेत तानासाही उभारलाई रोक्न सकेका छैनन् । संसद् र सर्वोच्च अदालतले बोल्सोनारोका डरलाग्दा आचरणहरू रोक्न सकेका छैनन् । बोल्सोनारोले आफ्नो राष्ट्रपतीय पद भगवानले मात्रै लान सक्ने भन्दै आफ्ना समर्थकहरू मार्फत गराएका गलत प्रचारलाई उनीहरूले चिर्न सकेका छैनन् ।

कोभिड-१९ महामारीको कारण बढेको देशको बिग्रँदो आर्थिक अवस्थाले लोकतन्त्रलाई अझ खियाउँदै लगेको छ । सुरक्षा, राम्रो ढल निकास र आर्थिक अवसरजस्ता आधारभूत सार्वजनिक वस्तु र सेवाहरू तारका तार आएका लोकतान्त्रिक सरकारहरूले प्रदान गर्न सकेका छैनन् ।

शताब्दीका सुरुका केही वर्षहरूमा देशको अर्थतन्त्र बढ्दै वार्षिक ७ प्रतिशतको वृद्धिदर भयो । तर, हत्याहरू पनि उत्तिकै बढे । अहिले हरेक वर्ष ५० हजार ब्राजिली नागरिक मारिने तथ्याङ्कले देखाएका छन् । आपराधिक तथा हतियारधारी समूहहरूले रियो दि जेनेरियोजस्ता शहरहरूमा विशाल पकड जमाएका छन् । यही वास्तविकताले अपराधविरुद्धमा कडा भनिएका बोल्सोनारोजस्ता नेताहरू किन अझै प्रतिस्पर्धात्मक छन् भन्ने देखाउँछ ।

बोल्सोनारो ब्राजिलको लोकतान्त्रिक अस्वस्थताको लक्षण र कारण दुवै हुन् । अर्जेन्टिना, चिली र अन्य ल्याटिन अमेरिकी देशहरू जस्तो ब्राजिलले आफ्नो तानाशाही विगतको खुला मन्थन गरेको छैन । एकपछि अर्को लोकतान्त्रिक सरकारहरूले २० वर्षे सैन्य तानाशाह सरकारका मानव अधिकार हननका एक जनालाई पनि कारबाही गरेको छैन ।

त्यो सन् २०२१ को जुनमा मात्रै परिवर्तन भयो‚ जब एक न्यायाधीशले सन् १९७१ को अपहरणको मुद्दामा एक अवकाशप्राप्त प्रहरी अधिकारीलाई दुई वर्षे जेल सजाय सुनाए । यसबारेमा बोल्सोनारोले भनेका थिए, ‘विरोधीलाई नमारेर यातनामात्रै दिनु गलत भयो ।’

विदेशमा तनाव
ब्राजिलको लोकतान्त्रिक क्षयीकरण आन्तरिक कारणको उपजमात्रै भने होइन । अन्तरराष्ट्रिय तत्त्वले समेत यसमा भूमिका खेलेका छन् । जलवायु परिवर्तन र अमेजनको जङ्गल मासिनुको कारण वातावरणीय विध्वंस कम गर्न ब्राजिललाई अन्तरराष्ट्रिय दबाब बढेको छ । यस्तो आलोचनाको बोल्सोनारोका समर्थकहरूबाट कडा प्रतिक्रिया आइसकेको छ । यसले बोल्सोनारोलाई आन्तरिक समस्या समाधान गर्नेभन्दा राष्ट्रवादी ज्वाला बाल्न सहयोग गरेको छ ।

रोचक यो छ कि जति बढी ब्राजिल अन्तरराष्ट्रिय मञ्चहरूबाट अलगिन्छ‚ त्यत्ति बढी बोल्सोनारोलाई आफू नै ब्राजिलको सार्वभौमसत्ताको रक्षकको रूपमा चित्रित भएको भान हुनथाल्छ ।

अमेरिकाका उग्र दक्षिणपन्थी समूहहरूले समेत ब्राजिलको राजनीतिमा प्रभाव राख्छन् । सन् २०२० को ट्रम्पको हारपछि अतिवादीहरूले उग्र दक्षिणपन्थी विचार फैलाउन ब्राजिललाई आफ्नो युद्ध मैदान बनाएका छन् । बोल्सोनारो परिवारले ट्रम्पका सल्लाहकार स्टेब बेननसँग निकट सम्बन्ध राख्छन् । बोल्सोनारो सरकारले उग्र दक्षिणपन्थी विचार अभियानहरू चलेका हंगेरी, इटाली र पोल्यान्डसँग पनि आप्रवासन र भूमण्डलीकरणको जोखिमका बारेमा सहकार्य बलियो बनाउन खोजिरहेको छ ।

दक्षिण अमेरिकाको कुनै बेलाको प्रभावशाली व्यापारिक ब्लक मेर्कोसुरले समेत यी खराब राजनीतिक वायुलाई विस्थापन गर्न सकेका छैनन् । सन् २००१ को इन्टर अमेरिकन डेमोक्रेटिक चार्टरजस्तै मेर्कोसुरको डेमोक्रेटिक क्लज पनि असान्दर्भिक भएको छ । एल साल्भाडोरका राष्ट्रपति नाइक बुकेलेको सरकारले न्यायालयलाई गरेको बर्खास्तदेखि निकारागुआका राष्ट्रपति डानियल ओर्तेगाले नोभेम्बरको राष्ट्रपतीय चुनावअघि दर्जनौँ उमेद्वारहरूलाई थुनेका हालसालैका घटनाहरूले बोल्सोनारोलाई क्षेत्रीय संस्थाहरू तथा छिमेकी देशहरूले ब्राजिललाई लोकतान्त्रिक मान्यताका सिद्धान्तहरूमा ल्याउने ल्याकत राख्दैनन् ।

अमेरिकाको बोल्सोनारोको लोकतन्त्र विरोधी रटान र नीतिहरूको दबाबको तत्परता पनि सीमित छ । राष्ट्रपति जो बाइडेन जलवायु परिवर्तनको असर कम गर्नेदेखि ल्याटिन अमेरिकी देशहरूमा चीनको प्रभाव कम गर्न सहकार्य गर्न इच्छुक छन् । यी दुवैले विरोध होइन‚ सहकार्य खोज्छन् । हालसालै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले ब्राजिल भ्रमण गर्नु पनि सन् २०२० को चुनावमा धाँधली भएको भन्ने बोल्सोनारोको आलोचना गर्न नभएर हुवावेलाई ब्राजिलको फाइब जी नेटवर्कबाट हटाउने आग्रह गर्न थियो । गोलार्द्धमा चिनियाँ प्रभाव कम गर्ने कुरामा ब्राजिल सहमत भएमा अमेरिकाले ब्राजिलको लोकतन्त्र मास्ने बोल्सोनारोको काममा आँखा चिम्लन सक्छ ।

यदि राष्ट्रपतिले आफ्नो बाटो नबदलेमा अमेरिका र युरोपियन युनियनले सैन्य साझेदारीलाई घटाउने, मेर्कोसुर-युरोपियन युनियनको व्यापार साझेदारी प्रमाणीकरण नगर्नेदेखि आर्थिक सहकार्य तथा विकास संस्थामा ब्राजिलको सदस्यता खारेजसम्मका काम गर्नुपर्छ । यही राष्ट्रिय र अन्तरराष्ट्रिय संयुक्त पहलकदमीबाट मात्रै ब्राजिलको लोकतन्त्र सन् २०२२ पछि बचाउन सकिन्छ ।

सन् २०२० अक्टोबरको ब्राजिलको चुनावमा जे सुकै भएपनि देशको लोकतन्त्रले मुख्य परीक्षा दिनेछ । लोकतान्त्रिक पश्चगमनका देशहरू हङ्गेरी, टर्की र भेनेज्वेलाको उदाहरणले चुनावबाट आएपछि तानाशाहहरू झन् तानासाही बन्ने देखिन्छ । उनले अर्को पटकलाई चुनाव जिते भने बोल्सोनारो कुनै अपवाद हुने छैनन् । लोकतान्त्रिक सङ्कट मोचन गर्न, ब्राजिलका विपक्षी दलहरूले बोल्सोनारोले आफ्नो राजनीतिक स्वभाव मध्यमार्गी बनाउने कुराले लोभिनुहुँदैन । आन्तरिक कलह र झगडा बिर्सेर विपक्षीहरूले एक भएर बोल्सोनारोविरुद्ध मोर्चा बनाउनुपर्छ ।

चेक गणतन्त्रमा आन्द्रेस बाबिसलाई गठबन्धन बनाएर हराएजस्तै गरी बोल्सेनारोलाई हराउन आफ्ना राजनीतिक आस्थाहरूलाई पर सारेर लोकतन्त्रवादी बृहत् मोर्चा बनाउनुपर्ने देखिन्छ । सँगसँगै अमेरिकी राष्ट्रपति जो बाइडेन र युरोपियन युनियनले ब्राजिलको लोकतन्त्रमा अवमूल्यन हुने काम भए परिणाम राम्रो नहुने आफ्नो प्रस्ट धारणा बनाउनुपर्छ । यदि राष्ट्रपतिले आफ्नो बाटो नबदलेमा अमेरिका र युरोपियन युनियनले सैन्य साझेदारीलाई घटाउने, मेर्कोसुर-युरोपियन युनियनको व्यापार साझेदारी प्रमाणीकरण नगर्नेदेखि आर्थिक सहकार्य तथा विकास संस्थामा ब्राजिलको सदस्यता खारेजसम्मका काम गर्नुपर्छ । यही राष्ट्रिय र अन्तरराष्ट्रिय संयुक्त पहलकदमीबाट मात्रै ब्राजिलको लोकतन्त्र सन् २०२२ पछि बचाउन सकिन्छ ।

(फरेन अफेयर्स म्यागेजिनमा नोभेम्बर १ मा प्रकाशित ब्राजिलमा अन्तरराष्ट्रिय सम्बन्धका सह-प्राध्यापक ओलिभर स्टुइनकेलको आलेखको भावानुवाद ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =