सुनसरी-मोरङ औद्योगिक करिडोरमा २ अर्ब ४७ करोडको क्षति

विराटनगर । मोरङ सुनसरी औद्योगिक करिडोरमा २ अर्ब ४७ करोड १८ लाख ९८ हजार क्षति भएको छ । गत कात्तिक ३ गते आएको हावाहुरीसहितको वर्षापछिको बाढीले उद्योग व्यवसायमा ठुलो क्षति भएको हो ।

उद्योग संगठन मोरङले औैद्योगिक क्षेत्रमा बाढीपछिको प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै ४१ वटा उद्योगमा क्षति भएको जनाएको हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयेशराज प्याकुरेलले बाढीपछि तत्काल अध्ययनका लागि काम सुरु भएको र त्यसैका आधारमा प्रभाव मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक भएको बताए ।

उद्यमीहरूसँग माग गरिएको विवरणअनुसार ४१ उद्योग प्रभावित भएकोमा मेसिनरी औजार उपकरणमा पनि क्षति भएको उद्योग संगठनले जनाएको छ । ९८ करोड १७ लाख १८ हजार मेसिनरी औजारमा क्षति भएको, ७१ करोड २५ लाख ७० हजार कच्चा मालवस्तुमा, ७६ करोड ४ लाख ५ हजार तयारी वस्तुमा क्षति भएको र सरसफाइ तथा फोहोर व्यवस्थापनमा एक करोड ७१ लाख ६५ हजार खर्च भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

No description available.

बाढी र डुवानका कारण उद्योग बन्द भई उत्पादन प्रक्रिया अवरुद्ध हुँदा स्थिर खर्च, प्रशासनिक खर्चलगायतका खर्चहरू उत्पादनको अवसर मूल्य तथा बजार श्रृङ्खला टुट्न गई थप ठुलो व्ययभार थपिएको संगठनका अध्यक्ष प्याकुरेलले बताए ।

प्रभावित ४१ वटा उद्योगको दैनिक प्रशासनिक खर्च ५ करोड हुने उनले बताए । अहिलेको अवस्थामा बाढी प्रभावित २७ वटा उद्योगहरू एक हप्तादेखि सञ्चालनमा आउन सकेका छैनन् । ७ वटा उद्योगलाई अझै संचालनमा आउन २ हप्ता लाग्ने‚ ३ वटा उद्योगलाई ४ हप्ता र ४ वटा उद्योगलाई पूर्ववत् अवस्थामा फर्किन ४ हप्ताभन्दा बढी लाग्ने उद्योग संगठनले जनाएको छ ।

संगठनको तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित बुढिगंगा गाउँपालिकाका उद्योगहरू रहेका छन् । त्यस्तै दुहबी नगरपालिका, ईटहरी उपमहानगरपालिका । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाका उद्योगहरू बढी प्रभावित भएका छन् ।

छलफलको क्रममा हुलास वायरका प्रविण कर्णले हुलास वायरमा ४ वटा प्लान्टमा असर गरेको बताए । अहिले सबै मेसिनहरू बन्द भएको कारण तत्काल उद्योग संचालनमा आउने सम्भावना नरहेको बताए । उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले हुलाकी राजमार्ग र ६ लेन सडकमा दोहोरो पानी बग्ने कल्भर्टहरू नबनाइदिँदा उद्योगहरू हरेक वर्ष डुवानमा पर्न थालेको बताए ।

‘सडक बनाउँदा उचो बनाइयो,’ उनले भने, ‘हाम्रा उद्योगका संरचना पुराना भएको कारण तल हुँदा निक्कै ठुलो क्षति व्यहोर्नुपर्‍यो  ।’

No description available.सप्तकोशी सिमेन्टका दिवस कटुवालले कर तिर्नका लागि ३ महिना पहिलादेखि नै कर गर्ने स्थानीय तहले क्षतिको बारेमा जानकारी लिनका लागि एक पटक पनि नआएको गुनासो गरे । उद्योग संगठनका कोषाध्यक्ष विपिन काब्राले हरेक वर्ष डुवानका कारण विद्युत् प्राधिकरणको दुहबी ग्रिड नै बन्द हुने अवस्था रहेकाले तत्काल यसलाई अन्यत्र व्यवस्थापन गर्न सुझाए ।

‘एउटा ग्रिड डुब्दा ४० घण्टासम्म प्रदेशभरि विद्युत् अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘यो समस्या एक वर्षका लागि मात्र होइन‚ हरेक वर्ष हुँदै आएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्छ ।’ मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले समस्याको समाधानका लागि सम्बन्धित सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए ।

हरेक वर्ष बाढी आउँछ‚ बगाउँछ भनेर जान्दा जान्दै पनि बस्ति राख्ने, हरेक वर्ष डुब्छ भन्ने जान्दा जान्दै पनि ग्रिड  व्यवस्थापन गर्न नसक्नु सरकारभित्रैको प्राविधिक समस्या भएकाले त्यसको समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

समस्यामात्र देखिने‚ तर समाधानमा चासो नदिने गरेको भन्दै उद्योग संगनठले नीतिगत समस्या समाधानका लागि भन्दै विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत र बुढिगंगा गाउँपालिकाका उपप्रमुख अमृताकुमारी गच्छदारलाई समेत कार्यक्रममा बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =