आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

काठमाडौँ । मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदकाे जन्म जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्तीमा बिदा दिने निर्णय गरेको थियो । यस्तै, प्रदेश २ सरकारले पनि सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले मोहम्मदको जन्म जयन्तीमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले मोहम्मद पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेका छन् ।

प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका मुस्लिम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । ‘महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै सबैले आफू र आफ्नो परिवारलाई सुरक्षित राखी कोभिड-१९ विरुद्धका स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी हर्षोल्लासपूर्वक यो दिवस मनाउनु हुन म सबैमा अनुरोध गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ ।

नेपालसहित विश्वभरका मुस्लिम धर्मावलम्बीको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लहू अलैही वसल्लम जन्म दिन अर्थात् मोहम्मद जयन्ती (मोहम्मद दिवस) यो वर्ष आज पर्न गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =