नोबेलमा डाक्टर, नर्स र पारामेडिकल कर्मचारीलाई दिइयो प्रशिक्षक बनाउने तालिम

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वका तीनवटा अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीहरूलाई प्रशिक्षक बनाउने तालिम दिइएको छ ।
नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले स्वास्थ्यसँग सम्बन्धित सीपमा आधारित तालिम प्रदान गर्ने प्रशिक्षक उत्पादनका लागि पाँच दिने तालिम सञ्चालन गरेको हो ।
नोबेल अस्पतालको हलमा गत बुधबारदेखि सुरु भएको सीटीएस तालिम आइतबार सम्पन्न भएको नोबेल अस्पतालका क्लिनिकल नर्सिङ्ग डाइरेक्टर प्रतिक्षा त्रिपाठीले जानकारी दिइन् ।
उनका अनुसार तालिममा नोबेल अस्पतालसहित, विराटनगरको कोशी अस्पताल र झापाको आम्दा अस्पतालका ११ जना स्वास्थ्यकर्मीहरू सहभागी थिए ।
उनीहरूलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका प्रशिक्षक डा.ईश्वरप्रसाद उपाध्याय, माधव भुसाल, टिका रावत र रानु राउतले प्रशिक्षण दिएका छन् ।
तालिममा सहभागीहरूलाई दक्ष प्रसुतिकर्मी र ग्रामीण अल्ट्रासाउन्डसम्बन्धी तालिमका लागि प्रशिक्षक बनाउन प्रशिक्षण दिइएको तालिम केन्द्रका जनस्वास्थ्य निरीक्षक बिनोद खनालले जानकारी दिए ।
यो तालिममा सहभागी भएकाहरू यसअघि दक्ष प्रसुतिकर्मी तालिममा सहभागी भएका थिए । अब, अन्य दुईवटा तालिममा सह-प्रशिक्षकको भूमिका निर्वाह गरेपछि उनीहरू प्रशिक्षक बन्ने तालिम केन्द्रले जनाएको छ ।








