सबै कम्युनिष्ट पार्टीले ल्याएजति मत कांग्रेस एक्लैले ल्याउँछ: गगन

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरीकनै बहुमत ल्याउने दाबी गरेका छन् । ‘कसैसँग मिलेर होइन,’ थापाले भने, ‘एक्लै लडेर अबको चुनाव जित्ने हो ।’
काठमाडौँ महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा नेता थापाले १४औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्नेसमेत दाबी गरे । ‘कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,’ थापाले भने, ‘उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ ।’
स्थानीय अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै नेता थापाले कांग्रेसले यथास्थितिबाट मुलुकलाई नेतृत्व गर्न नसक्ने बताए । भने— ‘अहिलेकै अवस्थाबाट हामीले देश र जनतालाई ढुक्क बनाउन सक्दैनौँ । त्यसका लागि पार्टीभित्र शुद्धीकरण गर्नुपर्छ, सुधार गर्नुपर्छ ।’
काठमाडौँ महानगरपालिकामा कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।








