ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गरिने
काठमाडौं । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ ।
सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने टेलिकमले जनाएको छ ।
यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुने जनाएको छ ।
नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सकिनेछ । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र-जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्रको प्रतिलिपी संलग्न गर्नुपर्ने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाल जेष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहुचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको टेलिकमले जनाएको छ ।