बिना दर्ता सञ्चालित औषधी पसलमा विभागको सिल 

विराटनगर । सुनसरीको ग्रामीण क्षेत्रमा सञ्चालित धेरै औषधी पसल तथा फार्मेसीहरू बिना दर्ता तथा अरूको लाइसेन्सबाट चलाएको फेला परेको छ। नागरिकको स्वास्थ्यसँग जोडिएको औषधीको क्षेत्रमा पनि ठुलो समस्या देखिएको गुनासोका आधारमा औषधी व्यवस्था विभागबाट गएको टोलीले बराहक्षेत्र नगरपालिकाका आधा दर्जन औषधी पसललाई सिल गरेको हो ।

बराह क्षेत्र नगरपारिका क्षेत्रमा गरिएको अनुगमनको क्रममा विना दर्ता सञ्चालित तथा अरूको नक्कली लाइसेन्समा सञ्चालित फार्मेसी तथा औषधी पसलहरूमा सिल गरिएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले बताए । कट्टेलको नेतृत्वमा गएको टोलीले बराहक्षेत्रका औषधि पसलमा अनुगमन गरिएको थियो ।

बराहक्षेत्र ३ मा दर्ता नगरी अवस्थित रूपमा सञ्चालित सबिना राईको साइन बोर्ड बिनाको औषधी पसल, उतिम लाल साहुद्वारा सञ्चालित मनकामना स्वास्थ्य उपचार क्लिनिक, उनदिप चौधरीद्वारा बिना दर्ता र बिना नाम सञ्चालित औषधि पसलमा सिल गरिएको उनले बताए । त्यस्तै बराह क्षेत्र नगरपालिका ५ मा अवस्थित सरिता ठाकुरको नाममा सञ्चालित शम्भु मेडिकल हललाई पनि सिल गरेको छ। सरिता ठाकुरको मृत्यु भएका बुबाको नाममा रहेको ओरियन्टेसनको प्रयोग गरी सञ्चालन गरेको अनुगमनमा पाइएको शर्माले बताए ।

त्यस्तै लाइसेन्स भाडामा लिएर फार्मासिस्टको अनुपस्थितमा फार्मेसी सञ्चालन गरी रहेका २ औषधि पसललाई समेत औषधि व्यवस्था विभागले सिल गरेको छ । इटहरी १७ मा रहेको एलिना फार्मेसीमा राज कट्टेलको लाइसेन्स प्रयोग भएको तर निज कट्टेल औषधि उद्योगमा समेत काम गर्ने गरेको अनुगमनको क्रममा खुलेको छ।  त्यस्तै बराहक्षेत्र ५ का प्रमोद कुमार साह तेली  सञ्चालक रहेको कामना फार्मेसी फार्मासिस्ट अरविन्द कुमार अग्रहरीको लाइसेन्स प्रयोग भएको तर उनी उक्त फार्मेसीमा काम नगरी अन्यत्र काम गर्ने गरेको पाइयो, औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत दीपेन्द्र खड्काले भने, उक्त पसलमा बिना दर्ताका यौनवर्धक औषधि समेत भेटिएको कारण सिल गरिएको छ ।’

बराहक्षेत्रमा नै अनुगमनको क्रममा औषधी पसल र भट्टी एउटै सटरमा राखेको समेत फेला परेको छ । अनुगमन गर्दै जाने क्रममा  नाम नै नभएको एक सटरमा मदिरा र फार्मेसी बिक्री गर्ने गरेको पाइएको औषधी व्यवस्था विभागका प्रमुख शर्माले बताए । यसरी अवैधानिक रूपमा सञ्चालित फार्मेसीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाइने  विभागले जनाएको छ ।  लाइसेन्स भाडामा लाएर अन्यत्र काम गर्ने फार्मासिस्ट प्रति समेत कडा रूपमा प्रस्तुत हुने विभागको तयारी रहेको उनले बताए । यो आर्थिक वर्षमा बिना दर्ता र भाडामा सञ्चालित फार्मेसीहरूको  अनुगमन तथा छानबिनका लागि एउटा टोली बनाएर  अभियान नै चलाउने विभागले जनाएको छ ।

औषधी व्यवस्था विभाग विराटनगर कार्यालयको  कार्यक्षेत्र रहेको एक नम्बर प्रदेश र दुई नम्बर प्रदेशका अस्पतालका फार्मेसी, औषधि उद्योग तथा फार्मासिस्ट कार्यरत क्षेत्र, फार्मेसी अध्यापन गराउने कलेजहरू सबैबाट विभागले फार्मासिस्टको विवरण सङ्कलन गरी अनलाइन डिएएमएसबाट काउन्सिल नम्बर सहित रुजु गर्ने र भाडामा लगाइएको पाइएमा  कारबाही प्रक्रिया अगाडि बढाउने  प्रमुख  शर्माले जानकारी दिए ।

लाइसेन्स भाडामा लाएर सम्बन्धित स्थानमा कार्य नगरेको भेटिएका सबै फार्मासिस्टहरुलाई कालो सूचिमा राखी विभिन्न माध्यमबाट सूचना प्रकाशित गर्ने समेत विभागको तयारी रहेको छ । त्यस्तै कलेजमा अध्यापन गराइ फार्मेसीमा नबस्ने फार्मासिस्ट, उद्योगमा काम गरेर अन्यत्र लाइसेन्स भाडामा लाउने फार्मासिस्टको हकमा फार्मेसी परिषद्मा कारबाही का लागि सिफारिस गर्ने विभाग को तयारी रहेको कट्टेलले जानकारी दिए ।

समग्र फार्मेसी पेसामा देखा परेको विकृति रोक्न का लागि यो निर्णय गरिएको हुँदा राम्रो काम गरी रहेका पसल तथा फार्मासिस्टहरु ले कुनै डर नमान्न र आफ्नो पेसाको मर्यादा कायम राख्दै जनतालाई सेवा दिन सबैमा विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 14 =