एनआरएनए नेतृत्वमा गण्डकी प्रदेशकै दुई प्रतिस्पर्धी

पोखरा । गैर आवासीय नेपाली संघ (एनआरएनए)मा चुनावी सरगर्मी बढेको छ । आउँदा अक्टोबरमा हुने चुनावमा प्रतिस्पर्धीहररूले दावेदारी प्रस्तुत गरिरहेका छन् । नयाँ नेतृत्वका लागि गण्डकीबाट मात्रै दुईजनाले उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि अध्यक्षमा पराजित कुल आचार्यले जन्मथलो पर्वतबाट उम्मेदवारी घोषणा गरेका छन् भने कास्कीकी रवीना थापाले बिहीबार काठमाडौँमा भर्चुअल माध्यमबाट उम्मेदवारी घोषणा गरेकी हुन् । उनीहरू दुवैजना नेपाली कांग्रेसनिकट हुन् ।

थापा अहिले महिला उपाध्यक्षको रुपमा कार्यरत छिन् । ‘परिवर्तनको एनआरएनए चाहिएको छ । बीसौँ वर्ष भइसक्यो एनआरएनएको अभियान चलेको,’ उम्मेद्वारी घोषणा गर्दै उनले भनिन्, ‘महिला राष्ट्रपति भएको देशबाट महिलालाई अर्थपूर्ण नेतृत्वमा पुर्‍याउन सक्नुपर्छ । म त्यो उदाहरण बनेर देखाउँछु ।’ उनले विश्वभर छरिएर रहेका नेपालीहरूको नागरिकताको समस्या समाधान गर्ने अजेन्डा सुनाइन् ।

अर्का दावेदार आचार्यले नेपालमा विदेशी पुँजी भित्र्याउन आफूले अभियान चलाउने बताए । ‘नेपालमा प्रवासीको लगानी आउन सकेको छैन । त्यसमा धेरै समस्याहरू छन्,’ उनले भने, ‘भित्रिएको लगानी सुरक्षा नहुँदा उत्साह छैन । त्यसका लागि एनअनरएनए नागरिकता आवश्यक छ । प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो देशसँग जोड्न गैरआवासीय नागरिकताको व्यवस्था हुनुपर्दछ ।’

असोज २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा कम्युनिस्ट प्यानल पनि बन्ने बुझिएको छ । यद्यपी हालसम्म घोषणा भइसकेको भने छैन । अहिले घोषणा गरेका दुवैजनाले प्यानल खडा गर्ने बुझिएको छ । आचार्य बेलायतमा व्यवसाय गर्छन् भने थापा अमेरिकामा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *