कविता : अस्तित्व

अस्तित्व
बगरबाट टपक्क टिपेर तर्तरी पसिना काड्दै
पिठ्युँमा थपक्क बोकेर ल्यायो सुन्दर मूर्ति बनाउन
छिनो र हथौडाको प्रहार र कोत्राइका
असङ्ख्य छिद्रहरुले तन भरिएपछि
बगरको ढुङ्गा ईश्वरको प्रतिक मूर्ति बनेछ !
ढुङ्गा ईश्वर बनेपछि पूजाअर्चना चल्न थालेपछि
दर्शन गर्नसम्म पनि नियमका सीमारेखा कोरिने
यो कस्तो थिति या विडम्बना हो दुनियाँको खै
जसको पसिना लत्पतिँदै पिठ्युँमा बोकिएर आएथ्यो
उसैले पुज्नसम्म बर्जित बन्नुपर्ने नियम पो बनेछ !
पर्व छन् दिनदिनै विशेष दिन छन् यहाँ विशेषहरूका लागि
सजिसजाउ छन् तन् झकिझकाउ छन् बदन् तर
मनहरु अक्सर द्वेष र क्लेषले भरिभराउ छन्
सङ्गै बस्न पाएन कालिगड त्यो लाममा किन हो कुन्नि
उसैको थुक र पसिना मिश्रित कला पो पुज्य बनेछ !
गुन्जियो उसैबेला बेतार्को पनि ऊर्जाशील धुन लिएर
भक्तिभावले ओतप्रोत हुँदै झुके कलाका पारखीहरु
बज्यो मालश्री, नगरा चोखिए ईश्वरका सारा दोषहरु
छिटियो उसैको पौरखबाट सुनपानी पूजाकोठामा
पुजियो उही कर्म, पुजिएनन् कर्ता कस्तो शास्त्र बनेछ !








