बलिङमा नयाँ मानक बनाएका मालिङ्गा
काठमाडाैँ । श्रीलङ्काको क्रिकेट विश्वमा छोटो समयमा ठुलो प्रगति गरेको देशको रूपमा परिचित छ । पछिल्लो समय श्रीलङ्का विश्व क्रिकेटमा लासिथ मालिङ्गाको बलिङका कारण पनि चिनियो । उनले बलिङमार्फत क्रिकेट जगतमा आफ्नो छुट्टै परिचय बनाए ।
मंगलबार क्रिकेटको छोटो फर्म्याटबाट सन्यासको घोषणा गर्दै गर्दा उनलाई क्रिकेटमा पुर्याएको योगदानका लागि क्रिकेट समर्थकहरूले धन्यवाद दिएका छन् । टी-२० अन्तरराष्ट्रियबाट सन्यास घोषणा गरेसँगै आधिकारिक रूपमा मालिङ्गाको क्रिकेट करिअर समाप्त भएको छ । उनले २०११ मा टेस्ट तथा २०१९ मा एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । यद्यपि उनले त्यसपछि श्रीलङ्काको तर्फबाट अन्तरराष्ट्रिय खेल भने खेल्ने गरेका थिए ।
मालिङ्गाले श्रीलङ्काका लागि क्रिकेटका तीनै फर्म्याट गरी ५४६ विकेट लिएका छन् । उनले ३० टेस्टबाट १०१ विकेट र २२६ एकदिवसीय खेलमा ३३८ विकेट लिएका छन् । त्यस्तै टी-२०(अन्तरराष्ट्रिय र घरेलु)मा उनले कुल ३९० विकेट लिएका छन् ।
टी-२० मा सर्वाधिक सफल
मालिङ्गा टी-२० को फर्म्याटमा धेरै सफल बलरको चौथो नम्बरमा आउँछन् । उनले ८४ टी-२० खेलमा २०.७९ को औसतमा १०७ विकेट लिए । यद्यपि उनको यो रेकर्ड बङ्गलादेशका सकिब अल हसनले भेट्न लागेका छन् । शकिबले ८८ खेलमा १०६ विकेट लिएका छन् ।
मालिङ्गा विश्वको सर्वाधिक लोकप्रिय टी-२० फ्रेन्चाइज आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडीसमेत हुन् । आईपीएलमा मुम्बई ईन्डियन्सबाट खेल्ने उनले आईपीएलमा १७० विकेट लिएका छन् ।
दुर्लभ कीर्तिमान
मालिङ्गा विश्वमा यस्ता बलर हुन्‚ जसले एकदिवसीय र टी-२० दुवै अन्तरराष्ट्रिय खेलमा लगातार ४ बलमा ४ विकेट लिएका छन् । २००७ मा एकदिवसीय विश्वकपमा उनले दक्षिण अफ्रिकासँग यो उपलब्धि हासिल गरेका थिए भने २०१७ मा न्यूजील्यान्डसँगको टी-२० मा उनले लगातार ४ बलमा ४ विकेट लिएर इतिहास बनाएका छन् ।
हाईलाइट्स
- १०७ : लासिथ मालिंङ्गाले पुरुष टी-२० अन्तराष्ट्रियमा अहिलेसम्म सर्वाधिक १०७ विकेट लिएका छन् ।
- १७०: इन्डियन प्रिमियर लिगमा सर्वाधिक १७० विकेट लिएका छन् । उनी १ सय विकेटको कीर्तिमान बनाउने पहिलो खेलाडीसमेत हुन् ।
- ३९० : मालिंङ्गाले आफ्नो टी-२० करिअरमा ३९० विकेट लिए । उनी ड्वेन ब्राभो (५४०), इम्रान ताहिर(४२०) र सुनिल नारेन (४१२)पछि सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
- १९५ : मांलिङ्गाले मुम्बई इन्डियन्सका लागि सर्वाधिक १९५ विकेट लिएका छन् । उनले डेब्यू खेलको दोस्रो बलमै विकेट लिएका थिए ।
- ३८ : मालिङ्गाले टी-२० विश्वकपमा ३८ विकेट लिएका छन् । उनले २०१४ मा ३८ रन पनि बनाए । त्यतिबेला बलरले बनाएको उक्त रन सर्वाधिक थियो । विश्वकपमा साहिद अफ्रिदीको नाममा ३९ विकेट छ ।
- ६ मा ७ : मालिङ्गाले २०१२-१३ को बिगबास लिगमा मेलबर्न स्टार्सको तर्फबाट पर्थ स्कोर्चर्सका लागि खेल्दा ७ बलमा ६ विकेट लिएका थिए । जुन बिगबास लिग इतिहास अहिलेसम्मको उत्कृष्ट फिगर हो ।
- ४ मा ४ मालिंङ्गाले एकदिवसीय र टी-२० दुवै अन्तरराष्ट्रिय खेलमा लगातार ४ बलमा ४ विकेट लिएका छन् ।
विश्व क्रिकेटमै अलग खालको उनको बलिङशैली विश्वभरका क्रिकेट समर्थकका लागि मिस हुनेछ ।