संसदीय समितिले भन्यो- परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्ने व्यवस्था मिलाउनू

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न र सुरक्षाका सबै मापदण्ड पालना हुने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।

साउन ३१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षाका सन्दर्भमा शिक्षा मन्त्रालयका अधिकारीहरूस‍ँग छलफल गर्दै समितिले सरकारलाई यस्तो सुझाव दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले कोरोना संक्रमणलाई ध्यानमा राखेर त्यस अनुसारको व्यवस्थापन गर्न सुझाव दिइएको बताइन् ।

‘परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न, हात धुने व्यवस्था मिलाउन, सुरक्षाका अन्य स्वास्थ्य सामग्रीहरूको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएका छौं‚’ घर्तीले भनिन्, ‘सकेसम्म परीक्षा शुरु हुनु अगावै खोप लगाउने व्यवस्था मिलाउन पनि सरकारलाई भनेका छौं ।’

शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था मिलाउनसमेत सरकारको नाममा निर्देशन गरेको छ ।

बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न सरकारलाई भनिएको सभापति घर्तीले जानकारी दिइन् ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुँदैछ । उनीहरुले यस वर्ष होम सेन्टरमै परीक्षा दिन पाउनेछन् । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

‘अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ’, शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने ।

सदस्य सचिव अर्यालका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००, एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *