नेसनल अवार्ड विजेता सुरेखाको जीवन

एजेन्सी । सुप्रसिद्ध भारतीय अभिनेत्री सुरेखा सिकरीको ७५ वर्षको उमेरमा आज हृदयघातका कारण निधन भएको छ । पाँच दशकयता अभिनयको दुनियाँमा सक्रिय सुरेखा बालिका वधूको चरित्र कल्याणी देवीका लागि सबैभन्दा बढी परिचित थिइन् ।
कडा हजुरआमाको यो चरित्रले नेपाल तथा भारतका घर घरमा उनलाई लोकप्रिय बनाएको हो । उनी अन्तिम पटक जोया अख्तरको घोस्ट स्टोरिजमा देखिएकी थिइन् ।
सुरेखाको अभिनय यात्रा १९७८ मा रिलिज भएको चलचित्र ‘किस्सा कुर्सीका’बाट सुरु भएको थियो । यसपछि उनले तमस, सलिम लंगड़े पे मत रो, सरदरी बेगम, सर्फरोस, मम्मो, हरि-भरि, जुबैदा, मिस्टर एन्ड मिसेज अय्यर, रेनकोट, तुमसा नहीँ देख, देव डी, बधाई हो, शेर कोरमा और घोस्ट स्टोरिजजस्ता चलचित्रहरूमा काम गरेकी छन् ।
बालिका वधू बाहेक, टेलिभिजनमा दादीसा भनेर चिनिने सुरेखाले एक था राजा एक थी रानी, परदेश में है मेरा दिल, सात फेरे, बनेगी अपनी बात, केसर, जस्ट मोहब्बतजस्ता टेलिसिरियलमा समेत काम गरिसकेकी छन् ।
सुरेखा चलचित्रमा आउनुभन्दा पहिले पत्रकार र लेखक बन्न चाहन्थिन् । तर भाग्यले उनलाई नेसनल स्कूल अफ ड्रामामा लग्यो । जहाँ उनले १९६८ मा स्नातक अध्ययन पूरा गरिन् । सुरेखाकी दिदी फुलमनी अभिनेत्री बन्न चाहन्थिन् । त्यसैले ड्रामा स्कूलको फर्म लिएर आइन् । तर छिट्टै अभिनयको भूत उनको टाउकोबाट उत्रियो । उनको ठाउँमा सुरेखाले फर्म भरिन् र एनएसडीमा अध्ययनका लागि गइन् ।
सुरेखाले तीन पटक राष्ट्रिय पुरस्कार जितेकी थिइन् । उनले चलचित्र ‘तमस’बाट १९८८ मा, १९९५ मा ‘मम्मो’मार्फत तथा ‘बधाई हो’ मार्फत् २०१८ मा पुरस्कार पाएकी थिइन् । त्यस्तै १९८९ मा हिन्दी थिएटरमा दिएको योगदानको कारण संगीत नाटक एकेडेमीले समेत उनलाई सम्मान गरेको थियो ।
सुरेखाका बुबा वायुसेनामा थिए भने उनकी आमा शिक्षिका थिइन् । उनको विवाह हेमन्त रेगेसँग भएको थियो‚ जसबाट उनले एक छोरा राहुल सिक्रीलाई जन्म दिइन् । राहुलसमेत कला क्षेत्रमा नै छन् । सुरेखाका पति हेमन्तको २० अक्टोबर २०२० मा हार्ट फेल भएर मृत्यु भएको थियो ।








