नेसनल अवार्ड विजेता सुरेखाको जीवन

एजेन्सी । सुप्रसिद्ध भारतीय अभिनेत्री सुरेखा सिकरीको ७५ वर्षको उमेरमा आज हृदयघातका कारण निधन भएको छ । पाँच दशकयता अभिनयको दुनियाँमा सक्रिय सुरेखा बालिका वधूको चरित्र कल्याणी देवीका लागि सबैभन्दा बढी परिचित थिइन् ।

कडा हजुरआमाको यो चरित्रले नेपाल तथा भारतका घर घरमा उनलाई लोकप्रिय बनाएको हो । उनी अन्तिम पटक जोया अख्तरको घोस्ट स्टोरिजमा देखिएकी थिइन् ।

सुरेखाको अभिनय यात्रा १९७८ मा रिलिज भएको चलचित्र ‘किस्सा कुर्सीका’बाट सुरु भएको थियो । यसपछि उनले तमस, सलिम लंगड़े पे मत रो, सरदरी बेगम, सर्फरोस, मम्मो, हरि-भरि, जुबैदा, मिस्टर एन्ड मिसेज अय्यर, रेनकोट, तुमसा नहीँ देख, देव डी, बधाई हो, शेर कोरमा और घोस्ट स्टोरिजजस्ता चलचित्रहरूमा काम गरेकी छन् ।

बालिका वधू बाहेक, टेलिभिजनमा दादीसा भनेर चिनिने सुरेखाले एक था राजा एक थी रानी, ​​परदेश में है मेरा दिल, सात फेरे, बनेगी अपनी बात, केसर, जस्ट मोहब्बतजस्ता टेलिसिरियलमा समेत काम गरिसकेकी छन् ।

सुरेखा चलचित्रमा आउनुभन्दा पहिले पत्रकार र लेखक बन्न चाहन्थिन् । तर भाग्यले उनलाई नेसनल स्कूल अफ ड्रामामा लग्यो । जहाँ उनले १९६८ मा स्नातक अध्ययन पूरा गरिन् । सुरेखाकी दिदी फुलमनी अभिनेत्री बन्न चाहन्थिन् । त्यसैले ड्रामा स्कूलको फर्म लिएर आइन् । तर छिट्टै अभिनयको भूत उनको टाउकोबाट उत्रियो । उनको ठाउँमा सुरेखाले फर्म भरिन् र एनएसडीमा अध्ययनका लागि गइन् ।

सुरेखाले तीन पटक राष्ट्रिय पुरस्कार जितेकी थिइन् । उनले चलचित्र ‘तमस’बाट १९८८ मा, १९९५ मा ‘मम्मो’मार्फत तथा ‘बधाई हो’ मार्फत् २०१८ मा पुरस्कार पाएकी थिइन् । त्यस्तै १९८९ मा हिन्दी थिएटरमा दिएको योगदानको कारण संगीत नाटक एकेडेमीले समेत उनलाई सम्मान गरेको थियो ।

सुरेखाका बुबा वायुसेनामा थिए भने उनकी आमा शिक्षिका थिइन् । उनको विवाह हेमन्त रेगेसँग भएको थियो‚ जसबाट उनले एक छोरा राहुल सिक्रीलाई जन्म दिइन् । राहुलसमेत कला क्षेत्रमा नै छन् । सुरेखाका पति हेमन्तको २० अक्टोबर २०२० मा हार्ट फेल भएर मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =