वैदेशिक व्यापार

आयात २५ प्रतिशत वृद्धि, व्यापार घाटा १२ खर्ब ६२ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ३७.८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारतमा ४३.३ प्रतिशत र अन्य मुलुकमा २५.९ प्रतिशतले निर्यात बढेको छ । तर, चीनतर्फकाे निर्यातमा भने १७.४ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू वर्षको ११ महिनाको तथ्यांकअनुसार वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु आयात २५.७ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ
पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने
मुलुकका आधारमा भारतबाट हुने आयात ३२.२ प्रतिशत, चीनबाट हुने आयात २४ प्रतिशत र अन्यमूलकबाट हुने आयात ९.९ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । त्यस्तै, तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २४.६ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११
करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा
निर्यात–आयात अनुपात ८.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत
रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =