साढे १२ खर्बकाे व्यापार घाटा घटाउन नवनियुक्त अर्थमन्त्रीलाई गभर्नरको सुझाव

काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको स्वागत कार्यक्रममा ब्रिफिङ गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यापार घाटा चुलिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मन्त्री शर्माको स्वागत कार्यक्रममा गभर्नर अधिकारीले चुलिँदै गएको व्यापार घाटा देशका लागि चुनौतीको विषय बन्दै गएको बताए । मुद्रा सञ्चितिको अवस्था भने राम्रो भएको उनले बताए ।

विकास निर्माणका लागि र सेवा क्षेत्रमा खर्चका लागि पर्याप्त रकम मौज्दात रहेको बताउँदै उनले व्यापार घाटा बढ्दै गए त्यसउले आर्थिक संकट निम्त्याउन सक्ने भन्दै अर्थमन्त्री शर्मालाई सचेत गराएका छन् ।

देशभित्रै उत्पादन हुन सक्ने र आत्मनिर्भर हुन सकिने हरेक जसो वस्तुको आयात बढ्दै जाँदा व्यापार घाटा चुलिँदै गएको प्रति उनले चिन्ता व्यक्त गरे ।

भन्सार विभागको तथ्यांक अनुसार चालू वर्षको ११ महिनामा वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ पुगेको छ । नेपालमा वस्तु आयात चालु आर्थिक वर्षको ११ महिनामा २५ दशमलव ६७ प्रतिशतले बढेको छ । यो अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को यही अवधिमा नेपालमा ११ खर्ब ८१ करोड ३४ लाख रुपैयाँको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले आन्तरिक स्रोत र क्षमताको पूर्ण परिचालन गर्न सके मात्र देश आर्थिक रुपमा समृद्धि हुने बताए । संकलन भएको राजस्वको दक्षतापूर्ण प्रयोग विकास निर्माणका क्षत्रेमा प्रयोग गर्न सकेमात्र आर्थिक वृद्धिको लक्ष्य भेटाउन सकिने उनले बताए । खोप खरिद तथा कोभिड प्रभावित क्षेत्रको पुनरुत्थानमा पनि मन्त्रालयले प्राथमिकताका साथ काम गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 19 =