जनतालाई बिजुली र जमिनमा सिँचाई पुर्याउन मन्त्री भुसालको जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सबै जनतालाई बिजुली र सबै कृषियोग्य भूमिमा सिँचाईको सुविधा पुर्याउन जोड दिनुपर्ने बताएकी छन् । नवनियुक्त मन्त्री भुसालले पद बहालीका क्रममा यस्तो बताएकी हुन् ।

‘लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔं,’ उनले भनिन्, ‘बिजुली बत्ती बाल्नै नपाउनेहरू छन् । उनीहरुसम्म बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ । कृषि प्रधान देश भनिए पनि सिँचाईको समस्या छ । सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्याउनेमा लाग्नुपर्छ ।’

हाल बाढी पहिरो र भूक्षय बढेको भन्दै उनले विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नु पर्ने बताइन् ।

देश र जनताको सपना पूरा गर्ने लक्ष्यलाई आत्मसाथ गरी राम्रो परिणाम निकाल्ने गरी लागि पर्ने उनले मातहतका कर्मचारीलाई आह्वान गरिन् ।

‘जनताको छोरी हुँ, जनताको जनयुद्वबाट यहाँसम्म आएको हुँ,’ उनले भनिन्, ‘काम गर्न सरल छु, मिलेर काम गरौं, जनताका काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो ।’

आफूले काममा कुनै पुर्वाग्रह नराख्ने र परिणाम निकाल्ने गरी काम गर्ने बताइन् ।

‘हामीले जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको छ,’ उनले भनिन्, ‘यो सुधार हुनुपर्छ ।’

मन्त्री भुसालको पदबहालीका क्रममा मन्त्रालयका सचिव, विभागीय प्रमुखहरू, सहसचिवहरूको उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =