गण्डकी प्रदेश सरकार

विपद् व्यवस्थापन गर्न पालिकालाई ५ लाख

पोखरा । मनसुनको सुरुमै मनाङमा बाढी पस्यो । क्षणभरमै मनाङका सुन्दर बस्ती मस्र्याङदीमा बगे । नाशों गाउँपालिका भवनसहित बैंक र स्थानीयको घर बाढीले खायो । गण्डकीका अधिकांश पालिका अहिले बाढी र पहिरोले पिरलिएका छन् ।

प्रदेश सरकारले बढ्दो विपद्को व्यवस्थापन गर्न पालिकालाई बजेट दिने भएको छ । बिहीहबारको मन्त्रिपरिषद् बैठकले ८५ वटै पालिकालाई ५ लाखका दरले रकम पठाउने निर्णय गरेको हो । विपद्जन्य घटनाको रोकथाम, उद्धार र राहतका लागि रकम उपलब्ध गराईएको प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

‘सबै ठाउँमा प्रदेश सरकारको नजर नपुग्न सक्छ । हामीसँग छुट्टै युनिट बनिसकेको छैन, जसले तत्काल उद्धार र राहत दिन सकोस्,’ उनले भने, ‘अहिलेलाई पालिकाबाटै काम गर्न लागेका छौं । सानातिना काम पालिकाले तत्काल गर्ने छ । विपद्पछिको ठूला दायित्वमा प्रदेश सरकारले छुट्टै काम गर्छ ।’ विपद्बाट हुने क्षतिको उद्धार र राहतका लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीको संयोजकत्वमा टास्क फोर्स पनि गठन गरेको छ ।

सरकारले चालू वर्षको बजेटबाटै रकम उपलब्ध गराउने निर्णय गरेको हो । अहिले बाढी पहिराको प्रकोप निकै बढेको प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उद्धार तथा राहतको काम हुने भएकाले पालिकासँग जोडिएको खड्का सुनाउँछन् । प्रदेशभरका जिल्लाहरुमा भएको क्षतिको विवरण संकलन गरी आवश्यकता अनुसार उद्धार, राहत तथा पुनस्र्थापना गरिने उनको भनाइ छ ।

तनहुँ, म्याग्दी र बागलुङमा बढी मानवीय क्षति छ । अघिल्लो वर्ष पनि गण्डकी प्रदेशमा नेपाल भरकै सबैभन्दा बढी मानवीय क्षति भएको थियो । हालसम्म विपद् पीडितहरुको पुनरुत्थान हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =