प्रदेश १ मा निषेधाज्ञा जारी, सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न दिइने

विराटनगर । कोभिडको महामारीका बिच भएका निषेधाज्ञा खुकुलो हुँदै गएको छ । इलाम, झापा, मोरङ र सुनसरी ४ जिल्लामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालनमा ल्याइने निर्णय भएसँगै प्रदेशका धेरै जिल्लामा सार्वजनिक सवारी साधन पनि सुचारु हुन थालेका छन् । जिल्लाहरुमा जारी भएको निषेधाज्ञा प्रशासन कार्यालयहरुले खुकुलो बनाउन थालेका हुन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्नुभन्दा पहिला नै चार जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको छलफलपछि ती जिल्लामा सार्वजनिक सवारीका सधनहरू संचालनमा ल्याउने निर्णय भएको हो ।

मोरङमा मंगलबारदेखि सार्वजनिक र निजी सवारी सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई असार २८ गतेसम्म लम्ब्याए पनि जोर-बिजोरका आधारमा सार्वजानिक यातायात संचालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

निषेधाज्ञा भने असार २८ गते मध्यरातिसम्म नै रहनेछ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले सार्वजानिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको बताए ।

यसअघि ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णय प्रशासनले गरेको थियो । प्रशासन कार्यालयका अनुसार शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार भने अझै सञ्चालन गर्न पाइने छैन । संक्रमणको जोखिम यथावतै रहेकाले बालबालिका भेला हुने विद्यालय भने बन्द नै रहने भएका हुन् । बाँकी क्षेत्रमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने प्रशासन कार्यालयहरूले जनाएका छन् ।

त्यस्तै झापामा आगामी असार ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बैठकले अत्यावश्यक सेवाहरू बाहेकका सबै प्रकारका निजी सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरबिजोर प्रणाली अन्तर्गत सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =