प्रसुतीको लागि महिलालाई अस्पताल लग्दै गरेको एम्बुलेन्स दुर्घटना

विराटनगर । विराटनगरमा भएको सवारी दुर्घटनामा ५ जना घाईते भएका छन् । महिलालाई प्रसुती गराउन अस्पतालतर्फ जाँदै गरेको एम्बुलेन्स जेसीबीमा ठोक्किएर दुर्घटना भएको हो ।
कोसी राजमार्ग अन्तरगत विराटनगर महानगरपालिका-३ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ क २४०३ नम्बरको जेसिबी पूर्वतर्फ मोडिने क्रममा को १ च ४०७३ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । जेसिबीमा ठोक्किएर अनियन्त्रित बनेको एम्बुलेन्सले दक्षिणतर्फ नै जाँदै गरेको को ३८ प ६०६३ नम्बरको स्कुटरलाईसमेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा प्रसुतीका लागि अस्पतालतर्फ लग्दै गरेकी विराटनगर-४ की ३० वर्षीया आस्था बास्तोला घाईते भएकी छिन् । त्यस्तै उनका पति ३३ वर्षीय ईश्वर बास्तोला, एम्बुलेन्स चालक विराटनगर-१ का २९ वर्षीय प्रदीप दाहाल घाइते भएका भने स्कुटर चालक विराटनगर-१२ का ४३ वर्षीय पंकज भट्टराई र स्कुटरको पछाडि रहेका २४ वर्षीय अमित सरदार पनि घाइते प्रहरी निरीक्षक खड्काले बताए ।
घाइतेहरुको कोसी अस्पताल र विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राती साँढे ९ बजे भएको दुर्घटना तिब्र गतिका कारण भएको प्रहरीको अनुमान छ ।









