युसुफ खान यसरी बनेका थिए दिलीप कुमार

एजेन्सी । भारतीय अभिनेता दिलीप कुमारलाई चलचित्रमा काम गर्ने इच्छा थिएन, न त उनलाई वास्तविक नामले नभई अरू नै नामले चिनिने रहर नै थियो । दिलीप कुमारका पिता मुम्बईका ठुला फलफूल व्यापारी थिए । बुझ्ने भएदेखि दिलीप कुमार आफ्नो पारिवारिक कारोबारमै व्यस्त हुनुपर्‍यो । त्यतिबेला आफ्नो वरपर उनी व्यवसायी मोहम्मद सरवर खानका छोरा युसुफ सरवन खानका नामले चिनिन्थे ।

एकदिन बुबाको नराम्रो वचन सुनेर चित्त दुखाएर उनी आफै केही गर्छु भन्ने योजनासहित मुम्बई छोडेर पुने गए । त्यहाँ पुगेर उनले अङ्ग्रेजी भाषा सिके । भाषा सिकेपछि पुने मै उनले बेलायती आर्मी क्यान्टिनमा असिस्टेन्टको काम गर्न थाले । त्यहीँ उनले स्यान्डविच क्यान्टिन खोले, जुन अङ्ग्रेज सैनिकका बिच निकै लोकप्रिय बनेको थियो । तर, सोही क्यान्टिनमा आयोजित एक कार्यक्रममा भारतको स्वतन्त्रताको लडाइँको समर्थन गरेको थाहा पाएपछि उनलाई पक्राउ गरियो र उनको काम पनि बन्द भयो । यो अनुभव दिलीप कुमारले आफ्नो आत्मकथा ‘द सब्सटेन्स एण्ड द स्याडो’ मा उल्लेख गरेका छन् ।

दिलीप कुमार

केही समयपछि जेलबाट छुटेपछि उनी पुनः मुम्बई फर्किए र, पिताको काममा सहयोग गर्न थाले । उनले फलफूलसँगै सिरानी बेच्ने काम पनि सुरु गरे । तर उनलाई सफलता मिलेन । कामकै सिलसिलामा उनका बाबुले नैनीताल गएर स्याउको बगैँचा किन्ने काम उनलाई सुम्पिएका थिए । नैनीताल पुगेका दिलीपले एक रुपैयाँ अग्रिम भुक्तानी दिएर सम्झौता गरेर फर्किए । यही क्षण पहिलो थियो जहाँ उनले बाबुको स्याबासी पाएको ।

यस्तै आम्दानी बढाउन बेलायती सैन्य शिविरमा काठले बनेको खाट सप्लाई गर्ने कामका लागि यूसुफ खान एक दिन दादर जानुपर्ने भयो । उनी चर्च गेट स्टेसनमा लोकल ट्रेनको पर्खाइमा थिए । सो समय उनको भेट चिनजानका मनोविद् डा. मसानीसँग भयो ।

डा. मसानी बम्बे टाकिजकी मालिक देवीका रानीलाई भेट्न जान लागेका थिए । उनले यूसुफलाई पनि त्यहाँ काम मिल्न सक्ने भन्दै सँगै हिँड्न आग्रह गरे । सुरुमा यूसुफले अस्वीकार गरे तर पहिलो पटक चलचित्र स्टुडियोमा पुग्ने आकर्षणले उनी जान तयार भए । त्यहाँ मोडिएको पाइलाका कारण उनको भविष्यले नै कोल्टे फेर्दैछ भन्नेबारे उनी अञ्जान थिए ।

दिलीप कुमार

बम्बे टाकिज त्यस समयको सबैभन्दा सफल चलचित्र निर्माता कम्पनी थियो । उक्त कम्पनी सञ्चालक देवीका रानी चलचित्र स्टारसँगै आधुनिक र दूरदर्शी महिला थिइन् । क्याबिनमा पुग्नेबित्तिकै देवीकाको व्यक्तित्वले उनलाई आकर्षित गर्‍यो । सो समय डा. मसानीले दिलीप कुमारको परिचय दिँदै देविकासँग उनका लागि कामको कुरा गरेको दिलीपले आफ्नो आत्मकथामा लेखेका छन् ।

देवीकाले दिलीपलाई उर्दु आउँछ ? भनेर सोधिन् । दिलीपले आउँछ भन्ने जवाफ दिए । डा. मसानीले दिलीपको परिवारको व्यवसायका बारेमा पनि देवीकालाई जानकारी दिए । त्यसपछि देवीकाले दिलीपलाई सोधिन्’ ‘के तिमी कलाकार बन्छौ ?’ देवीकाले उनलाई १२५० रुपैयाँ मासिक नोकरीको अफर पनि दिइन् ।

डा. मसानीले दिलीपलाई उक्त प्रस्ताव स्वीकार गर्न इशारा गरे, तर उनले प्रस्तावका लागि देवीकालाई धन्यवाद दिँदै आफूलाई चलचित्रको कामको अनुभव नभएको बताए । तब देवीकाले दिलीपसँग सोधेकी थिइन्, ‘तिमी फलफूल कारोबारबारे कतिको जान्दछौ ? दिलीपले जवाफ दिए, ‘हजुर, म सिक्दैछु ।’

 

देवीकाले तब दिलीपलाई भनिन्, ‘जब तिमी फलफूलको कारोबार र खेतीबारे सिक्दैछौ भने चलचित्र मेकिङ र अभिनय पनि सिकिहाल्छौ,’ उनले थपिन्, ‘मलाई एक सुन्दर र पढेलेखेको युवा अभिनेता आवश्यक छ । मैले तिमीमा एक असल अभिनेता बन्ने योग्यता देखिरहेकी छु ।’ सन् १९४३ मा १२५० रुपैयाँ धेरै ठुलो रकम थियो । दिलीपले मासिक १२५० रुपैयाँ पाइने भएपछि अफर स्वीकार गरी अभिनय सिके र बम्बे टाकिजका अभिनेता बने । उनी दैनिक बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म स्टुडिओमा नै हुन्थे ।

दिलीप कुमार नाम राख्ने प्रस्ताव

एक बिहान उनी स्टुडिओमा पुग्नासाथ उनलाई देवीका रानीले आफ्नो क्याबिनमा बोलाइन् । उक्त भेटका बारेमा दिलीपले आफ्नो आत्मकथामा लेखेका छन्, ‘यूसुफ, म तिमीलाई छिट्टै याक्टरका रूपमा लन्च गर्न चाहन्छु । यस्तोमा तिम्रो एक स्क्रिन नाम हुन आवश्यक छ । यस्तो नाम, जुनबाट तिमीलाई दुनियाँले चिन्नेछ । यस्तो नाम, जसबाट दर्शकले तिम्रो रोमान्टिक इमेज जोडेर तिमीलाई हेर्नेछन् । मेरो विचारमा ‘दिलीप कुमार’ निकै सुन्दर नाम हो । तिमीलाई यो नाम कस्तो लागेको छ ?’

यो सुनेर युसुफ चुप रहे । उनी नयाँ पहिचानका लागि तयार थिएनन् । तर पनि उनले देवीका रानीलाई नाम राम्रो भएको भन्दै नाम फेर्न जरुरी छ र ? भन्ने प्रतिप्रश्न गरे । देवीकाले मुस्कुराउँदै भनिन्, ‘यस्तो गर्नु बुद्धिमानी हुन्छ । निकै सोच विचार गरेर म यो निर्णयमा पुगेकी हुँ ।’

यो बेला भारत स्वतन्त्र हुनुअघिको समय थियो । हिन्दु र मुस्लिमलाई लिएर समाजमा धेरै कटुताको स्थिति थिएन । तर केही वर्ष पश्चात् भारत र पाकिस्तान बने । देवीकाले बजारबारे बुझेकी थिइन्। उनलाई थाहा थियो कि कुनै ब्रान्डको लागि दुवै समाजका मानिसहरूबीच स्वीकार्यताको स्थिति नै अब्बल स्थिति हुनेछ । त्यसपछि यूसुफ पनि दिलीप कुमार बन्न तयार भए ।

उनको सन् १९४४ मा प्रदर्शित चलचित्र ज्वारभाटा सफल हुन सकेन । तर देवीका रानीको अनुमानबमोजिम नै दिलीप कुमार लामो समयसम्म चलचित्र जगतमा चम्किरहेका छन् ।

(बिबिसी हिन्दीबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *