अबको निषेधाज्ञा केही खुकुलो, यस्तो छ नयाँ नियम

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । केही खुकुलो हुनेगरी थपिएको निषेधाज्ञामा केही गतिविधिहरु गर्न पाइने ललितपुरका प्रजिअ ढुण्डीराज निरौलाले मकालु खबरलाई बताए ।

निरौलाकाअनुसार अब खाद्यान्न, तरकारी किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ । विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ । निरौलाले भने— ‘पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो, अब ती पसल ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ । यसमा पुस्तक पसल पनि थप गरिएको छ ।

यसैगरी होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने निर्णय भएको छ । अनलाइन डेलिभरीका लागि होटलहरूलाई बिहान ७ बजेदेखि काम गर्न दिइनेछ भने विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदुरहरू राख्न पाइने भएको छ ।

यसैगरी वर्कशप भने बिहानदेखि बेलुकीसम्मै खोल्न पाइने निर्णय भएको निरौलाले बताए । ‘अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ,’ निरौलाले भनेका छन्,— ‘एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनको सन्दर्भमा परिचय पत्र देखाउनु पर्दैन ।’

यता बैंक तथा वित्तीय संस्थाको सन्दर्भमा पनि केही नियम खुकुलो बनाइएको छ । पहिले जिल्लामा दुईवटा बैंकका शाखा सञ्चालन गर्न दिइएको थियो । यसमा सामान्य सहजीकरण गरिएको निरौलाले बताए । सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ ।
बैंकहरूको अरू शाखा खोल्नका लागि राष्ट्र बैंकमार्फत कुरा गरेर कति दिन खोल्ने भन्ने राष्ट्र बैंककै प्रोटोकलअनुसार खोल्न सकिने छ ।

निरौलाकाअनुसार अझै खुकुलो पार्ने योजना आफूहरुको थियो । तर, सोचेजस्तो संक्रमण नघटेकाले पुनः थोरै मात्रै खुकुलो पार्नुपरेको हो । ‘सरोकारवालाहरुले लुजटाडनको सुझाव दिनुभएको थियो । तर, सोचेजसरी संक्रमण घटिदिएन । त्यसैले फेरि यस्तो निर्णय गर्नुपर्ने भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *