पहिलोपटक रसुवा अस्पतालमा भित्रियो भेन्टिलेटर

रसुवा । हिमाली दूर्गम जिल्ला रसुवामा पहिलोपटक रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद एवं सामाजिक अभियानकर्मी इञ्जीनियर मोहन आचार्यले रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध गराएका छन् । आचार्यले भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण गरेका हुन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार सांसद आचार्यद्वारा मिनी भेन्टिलेटर चार थान, अस्पताल भर्ना भएका बिरामी सुताउने शय्या पाँच, अक्सोमिटर ३० वटा एवं सर्जिकल मास्क तीन हजारसमेत १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो । उक्त स्वास्थ्य सामग्री धुञ्चेमा रहेको जिल्ला अस्पताल र जीवजीवेमा रहेको ग्रामीण अस्पताललाई बराबर वितरण गर्ने आचार्यको निर्देशनबमोजिम प्राप्त सामग्री ती अस्पतालमा पठाइसकिएको प्रजिअ ढकालले जानकारी दिए ।

कोभिड-१९ को जटिल अवस्थामा आचार्यद्वारा प्राप्त सामग्री जनहितकारी भएको कोभिड नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ । शरीरमा अक्सिजन कमी हुन गई श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारमा सहज पार्ने उद्देश्यका साथ जिल्लामा रहेका दुईवटा अस्पताललाई आफ्नो व्यक्तिगत तवरबाट भेन्टिलेटरसमेत सहयोग प्रदान गरेको आचार्यले बताए ।

कोभिड–१९ को पहिलो लहरमा समेत आचार्यले स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै महामारीमा बिहान-बेलुका छाक टार्न मुस्किल भएका ५०० भन्दा बढी विपन्न परिवारलाई आफ्नोतर्फबाट खाद्य सामग्री प्रदान गरेका थिए भने कोरोना नियन्त्रण अग्रपङ्क्तिमा काम गर्ने ५०० भन्दा बढी व्यक्तिलाई स्वास्थ्य बीमासमेत गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =