कोभिड-१९ महामारीको अवस्थाप्रति चिन्तित छौं : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड-१९ बाट सिर्जित विषम परिस्थिति र यो महामारीको अवस्थाप्रति आफू चिन्तित रहेको बताएका छन् । बिहीबार आफ्नो र पत्नी कोमलको स्वास्थ्यावस्थाको जानकारी दिँदै पूर्वराजा शाहले कोभिड महामारीप्रति चिन्ता व्यक्त गर्दै कोभिड-१९ विरुद्धको लडाइँ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेका हुन् ।

आफूहरू कोभिड संक्रमित भई अस्पताल भर्ना हुँदा दुवैको स्वास्थ्यबारे चिन्ता, चासो लिने र शुभेच्छा दिने सम्पूर्णलाई आभार व्यक्त गरेका छन् । अहिले आफूहरू दुवैजना पूर्णरुपमा स्वास्थ्य लाभ गरी घर फर्किसकेको जानकारी दिँदै पूर्वराजा शाहले देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति आफूहरू चिन्तित रहेको बताएका छन् ।

भिडिओ सन्देशमार्फत उनले भनेका छन्, ‘महामारीको प्रक्रिया चलिरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै सङ्कल्प र बाहिरी सहयोगको आवश्यक पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिन चाहन्छौं ।’

उनले उपचारका क्रममा रहेको सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोभिडका कारण ज्यान गुमाएकाहरूको आत्माको चीर शान्तिको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =