मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसँग पराजित

इराकसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । इराकमा भएको खेलमा एकसमय अग्रता लिएपनि बलियो  घरेलु टिमलाई रोक्न नसक्दा नेपाल ६–२ ले पराजित भएको हो । पहिलो हाफको उत्तरार्धसम्म नेपालले २–१ को अग्रता लिएको खेलमा नेपालले लगालग जसो तीन गोल खाएपछि नेपालले लय गुमाएको थियो ।

खेलको सातौं मिनेटमै इराकले अग्रता लिएको थियो । कप्तान अला अब्दुल जहर खासिनले झन्डै २५ यार्ड टाढाबाट हानेको फ्रिकिक सिधै नेपालको गोलपोष्टमा छिरेको थियो । त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । अन्जन विष्टको प्रहार बचाउन खोज्दा खलाफले आफ्नै पोष्टमा गोल गरेका थिए ।

३० औं मिनेटमा डेब्यु खेलाडी मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए ।

३८ औं मिनेटमा इराकका मोहमद अब्दुल्जारा ओबेदले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए ।

लगत्तै इराकले अग्रता लियो । डिफेन्समा समन्वय नभएको मौकाको फाइदा उठाउँदै अयमन हुसेन गबधनले पेनाल्टी क्षेत्रभित्र बल पाएर किरणलाई छलाउँदै गोल गरे। रोहितले बल ब्याकपास दिएपनि किरण निकै पछाडी भएकाले जोगाउन सकेनन् ।

दोस्रो हाफमा नेपालले सन्तोष तामाङ, नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल, अभिषेक रिजाल र विशाल राईलाई खेलाएको थियो ।
६८ औं मिनेटमा इराकका मोहमद अलि अलसम्मारीले गोल गर्दै खेल ५–२ ले मा पुर्याए । ७४ औं मिनेटमा सज्जाद जसिमले गोल थपे । त्यसपछि भने खेलमा कुनै गोल भएन र इराक ६–२ ले विजयी भयो ।

आफुभन्दा निकै निकै माथिल्लो स्तरको टिमविरुद्ध उसकै मैदानमा खेलेको हो । यद्यपी नेपालको प्रदर्शन भने विगतभन्दा तुलनात्मक रुपमा राम्रो भने रह्यो ।

नेपाल अब जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न उतैबाट कुवेत जाानेछ । नेपालले विश्वकप छनोट अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *