निषेधाज्ञामा मानसिक स्वास्थ्यको स्याहार गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा मानसिक स्वास्थ्यको हेरचाह गर्न भन्दै त्यसको स्याहारका विभिन्न उपायहरू सुझाएको छ ।
निषेधाज्ञामा एकै ठाउँमा बसिरहँदा मानसिक विचलनहरू आउन सक्ने भन्दै मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मानसिक स्याहारका विभिन्न उपायको बारेमा सूचना जारी गरेको हो ।
नियमित रुपमा शारीरिक व्यायाम, योग तथा ध्यान गर्ने, घरायसी काम तथा पारिवारिक छलफलमा सहभागी हुने, रुचीका खेल खेल्ने, किताब पढ्ने, लेख्ने, रचनात्मक चलचित्र हेर्ने गर्नाले मानसिक विचलन कम हुने मन्त्रालयले जनाएको छ ।
त्यस्तै सजिलोसँग पच्ने र पोषणयुक्त खानेकुरा खाने, पर्याप्तमात्रामा सुत्ने, तनाव व्यवस्थापन गर्न गाह्रो परे मनोचिकित्सक वा मनोविद्सँग परामर्श गर्ने, टाढा भएपनि आफन्त र साथीभाइसँग नियमित सम्पर्कमा रहने, सामाजिक सञ्जालको प्रयोग घटाउने र अत्यधिक समाचार नहेर्ने र दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई व्यस्त तथा सक्रिय राख्नाले मानसिक विचलनमा कमी ल्याउने मन्त्रालयद्वारा जारी सचेतनामूलक सूचनामा उल्लेख गरिएको छ ।










