प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । मूख्य विपक्षी दल नेपाली कांग्रेसले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ ।

कांग्रेसको संसदीय दलले ‘बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि बिहीबार मतदान हुन लागेकोमा त्यसअघिको मौन अवधिमा प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठले आफ्ना उम्मेदवारको पक्षमा मत माग्दै निर्वाचन आचार संहिताको ठाडो उल्लंघन गरेको’ दाबीसहित दुवैजनालाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी गरेको हो ।

निर्वाचन आचार संहिता पालन गर्नु सबैको कर्तव्य तथा स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गर्नु सरकारको दायित्व भएपनि सरकारका प्रमुख र मन्त्रीले नै कुनै उम्मेदवारका पक्षमा मतदान गर्न अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु निर्वाचनको आधारभूत सिद्धान्तविपरीत भएको ठहर गर्दै कांग्रेस संसदीय दलले आयोगलाई पत्र पठाएको हो ।

पत्रमा, कांग्रेस संसदीय दलको बैठकले आचार संहिता उल्लंघन गरी प्रधानमन्त्री ओलीले मत मागेकोप्रति भत्सर्ना गर्दै आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो कोहीलाई कारबाही गर्न जोडदार माग गर्ने निर्णय गरे बमोजिम कारबाहीका लागि आयोगलाई आग्रह गरिएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले चुनाबको अघिल्लो दिन बुधबार विज्ञप्ति निकालेर एमाले उम्मेदवार रामबहादुर थापालाई मत दिन आग्रह गरेका थिए । मौन अवधिमा मत मागेर प्रधानमन्त्री ओलीले आचार संहिता उल्लंघन गरेको प्रति चौतर्फी आलोचना भइरहेको छ । निर्वाचन आयोगले समेत विज्ञप्ति निकाले मौन अवधिको उल्लंघन नगर्न ध्यानाकर्षण गराएको थियो । विज्ञप्तिमा कसले उल्लंघन गर्यो भन्ने उल्लेख नभएपनि विज्ञप्ति प्रधानमन्त्री ओलीको विज्ञप्ति लक्षित थियो ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =