वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्दै चौधरी गुप्र र नविल बैंक

काठमाडौं । काठमाडौंको केन्द्रभागमा रहेको वीर अस्पतालमा चौधरी फाउन्डेसनले आईसीयू वार्ड र नविल बैंक लिमिटेडले अक्सिजन प्लान्ट स्थापना गरिदिने भएको छ ।
मंगलबार फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी, बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) वीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण शाहबीच सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
चौधरी फाउन्डेसनले चौधरी फाउन्डेसन स्थापना गरिदिने सम्झौतामा उल्लेख छ । त्यस्तै अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर प्रतिघण्टा रहने र मे महिनाभित्रै निर्माण सम्पन्न हुने बताइएको छ ।
सम्झौता कार्यक्रममा नाम्सका उपकुलपति शाहले वीरमा एक सय कोरोना संक्रमितको उपचार गर्ने क्षमता रहेपनि हाल करिव दुई सय जना संक्रमितको उपचार भइरहेको जानकारी दिए ।
उनले हाल अस्पतालमा अक्सिजनको चरम अभाव भइहेको भन्दै सम्झौताले कोरोना संक्रमितको उपचार सहज हुने विश्वास व्यक्त गरे ।
त्यस्तै चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोरोना महामारीसँग जुधिरहेका बेला राज्यलाई सधैं सहयोग गर्न तयार रहेको जानकारी दिए ।
त्यस्तै नविलका सीईओ शाहले वीर अस्पतालमा अब अक्सिजन अभाव नहुने भन्दै कोरोना संक्रमितको उपचारमा कुनै कठिनाइ हुन नदिने बताए । उनले कोरोना संक्रमितको सहज उपचारका लागि सबै अस्पतालमा आवश्यक पूर्वाधार सम्पन्न हुनुपर्ने धारणा पनि राखे ।
सरकारले वीर अस्पताललाई केन्द्रीय कोभिड उपचार अस्पतालमा रुपान्तरण गरेको छ ।









