काठमाडौं रेजर्स एफसी नेपाल लिगको फाइनलमा प्रवेश

काठमाडौं । काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल थपे । खेलको खेलको १५ औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । मेसौकेको पासमा स्टेफेनले बल अगाडि बढाउने क्रममा ललितपुरका डिफेन्डर कमल श्रेष्ठले बक्सभित्र लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । जसमा मेसौकेले गोल गरे ।

खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडि बढाउँदै डिफेन्डर पिटरलाई बिट गर्दै मेसौकेले उत्कृष्ट गोल गरे । त्यसपछि खेलको ६० औं मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३–० को जित दिलाए ।

उनले तेज तामाङको पासमा बल नियन्त्रण गर्दै गोलरक्षक अर्पण कार्कीसँगको वान भर्सेज वानमा उत्कृष्ट गोल गरे । खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका आशिष गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र धनगढीबीचको फाइनल खेल शनिबार हुनेछ ।

धनगढी पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २–१ गोल अन्तरले हराएर फाइनल पुगेको हो । दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको ललितपुर भने बाहिरिएको छ ।

प्रतिक्रिया