१५ दिनभित्र अक्सिजन प्लान्ट स्थापनाको निर्देशन हावादारी : अफिन

काठमाडौं । निजी स्वास्थ्य संस्था संगठन नेपाल (अफिन)ले १५ दिनभित्र निजी स्वास्थ्य संस्थालाई अक्सिजन प्लान्ट स्थापना गर्न सरकारले दिएको निर्देशन हावादारी रहेको भन्दै आपत्ति जनाएको छ । सरकारले बुधबार निजी अस्पतालहरूलाइ यस्ताे निर्देशन दिएकाे थियाे । साथै नागरिकको स्वास्थ्यप्रति आफू गैरजिम्मेवार बन्दै निजी क्षेत्रप्रति दायित्व देखाउने सरकारको हास्यास्पद निर्देशन भएको भन्दै अफिनको आपत्ति छ ।

संगठनका अध्यक्ष बसन्त चौधरीद्वारा बिहीबार जारी विज्ञप्तीमा भनिएको छ– ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २९ वैशाखमा कम्तीमा एक सय बेड सञ्चालन गरेका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न भनेर दिएको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

कोभिड–१९ महामारीका कारण देशभरि नै अक्सिजनको अभाव भएको बारेआफूहरु जानकार र गम्भीर रहेको समेत विज्ञप्तीमा जनाइएको छ । तर, अक्सिजन प्लान्ट स्थापना गर्न कम्तीमा पनि साढे ३ महिना लाग्ने संगठनले जनाएको छ ।
यो असहज अवस्थाप्रति गम्भीर पनि छौँ। सीमित साधन(स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीहरूको उपचारसेवामा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो यस्तो गैर जिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी संचालन भैरहेछ भन्ने स्पष्ट हुन्छ ।

विज्ञप्तीमा भनिएको छ– ‘ हाल लगभग देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाईसेवा पनि बन्द रहेका छन् । द्रूत ढुवानीको अरू कुनै विकल्प छैन । अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन । विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन । प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ । १०० शय्याको अस्पतालका लागि नेपाल सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्।’

यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय भएको संगठनको भनाइ छ ।

‘देशैभरी अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदमहरु चालिनुपर्ने र उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरु तयार रहेको पनि हामी जानकारी गराउन चाहान्छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘ कोभिडका कारण देशले भोग्नुपरेका समस्या समाधानका लागि आफ्नो तहबाट सम्पूर्ण सामर्थ्यका साथ योगदान गर्न निजी अस्पतालहरू अहोरात्र खटिरहेको र आगामी दिनमा पनि यस महामारीसँग जुध्न सकारले चालेका कदमहरूलाई साथ दिन हामी हरदम तयार रहेको जानकारी पनि गराउन चाहन्छौँ।’

प्रतिक्रिया