नाै महिनामा व्यापार घाटा १० खर्बमाथि

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिना (चैतसम्म)मा ११ खर्ब ११ अर्ब ४० करोड रुपैयाँको कुल वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१ प्रतिशतले बढी हो । गत वर्ष २०७७/७८ को सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो । यो वर्ष भने आयात बढेको राष्ट्र बैंकको तेस्रो त्रैमासिक विवरणमा आधारित प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार भारतबाट हुने आयातमा २०.३ प्रतिशत र चीनबाट हुने आयातमा ७.७ प्रतिशतले बढेकाे छ । अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ । तर, हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायत वस्तुको आयात घटेको छ ।
९४ अर्ब ७७ करोडको निर्यात
आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा कुल वस्तु निर्यात २०.२ प्रतिशतले बढेको छ । यस अवधिमा ९४ अर्ब ७७ करोड रुपैयाँको कुल वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो ।
भारतमा हुँदै आएको निर्यात यस अवधिमा २३.५ प्रतिशतले बढेको छ । अन्य मुलुकतर्फ हुँदै आएको निर्यात १४.५ प्रतिशतले निर्यात बढेको छ भने चीनतर्फकाे निर्यातमा २७.३ प्रतिशतले कमी आएको छ ।
सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जलेश्वर, तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
१० खर्ब १६ अर्बको व्यापार घाटा
चालू आर्थिक वर्षको ९ महिनामा कुल वस्तु व्यापार घाटा १०१६ अर्ब ६३ करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत थियो ।
निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०७७ चैत महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ३.३ प्रतिशतले बढेको छ । आयात मूल्य सूचकाङ्क ६.७ प्रतिशतले बढेको छ । २०७६ चैत महिनामा ३.९ प्रतिशतले बढेको व्यापारको शर्त २०७७ चैत महिनामा ३.२ प्रतिशतले घटेको छ ।








