खोप खरिदमा मन्त्रालयलाई मुछ्नु गलत : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभागले निर्णय गर्ने भएकाले यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गराउनु गलत भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी खोप खरिद प्रकरणमा मन्त्रालयलाई संलग्न गरी प्रकाशित भएका समाचारहरूमा सत्यता नभएको दाबी गरेको हो ।
विभागको आपत्कालीन प्रयोगका लागि अनुमतिप्राप्त २० लाख डोज कोभिसिल्ड खोपलाई प्रतिखोप ४ डलरमा खरिद गरिएकोमा १० लाख डोज प्राप्त भइसकेको र बाँकी खोप भारतको वर्तमान अवस्था, उत्पादक कम्पनीमा लागेको आगलागी र क्षमता विस्तारमा भएको अवरोधका कारण आउन नसकेको मन्त्रालयले बताएको छ ।
यसअघि कोभिसिल्ड खोप बिक्री गरेको भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले नेपाललाई प्राथमिकतामा राखेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनासाथ आपूर्ति गर्ने जानकारी दिएको छ, थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरीद गर्ने अवस्था हाललाई रहेको छैन ।’
अन्य कम्पनीका खोप खरीदका लागि कूटनीतिक तथा अन्य माध्यमबाट प्रयास भइरहेको समेत मन्त्रालयले जनाएको छ ।










