बागलुङको धौलागिरि अस्पतालमा अक्सिजनसहित ३५ शय्याको आइसोलेसन निर्माण

बागलुङ । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेसन कक्ष तयार पारेको छ । नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको वडा नं ३ स्थित रातामाटामा ३५ शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको जनाएको छ ।

नगरपालिका क्षेत्रमा रहेको धौलागिरी अस्पतालमा रहेका आइसोलेसन शय्या भरिँदै जान थालेपछि आइसोलेसन कक्षको निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

‘अस्पतालमा रहेको २५ श्यया क्षमताको आइसोलेशन लगभग भरिन थालेको छ, कोरोनाको दोस्रो लहरमा अक्सिजनको निकै आवश्यक रहेको हुँदा अक्सिजनसहितको आइसोलेसन निर्माण गरेका हौँ,’ नगरप्रमुख पौडेलले भने, ‘अहिले ३५ शय्याको तयारी गरेका छौं, संक्रमित बढ्दै गए शय्या थप्दै जानेछौँ ।’

धौलागिरी अस्पतालमा अहिले २३ संक्रमित उपचाररत छन् । अस्पतालमा २५ जनालाई राखेर उपचार गर्न सक्ने क्षमता छ ।

गतवर्ष संक्रमित धेरै भएपछि धौलागिरि बहुमुखी क्याम्पसमा राखेर उपचार गरिएको थियो । अस्पतालमा उपचाररत दुई जनाको बिहीबार मृत्यु भएको छ । एक संक्रमित र अर्का एकजना शङ्कास्पद बिरामीको मृत्यु भएको थियो ।

आइसोलेसनका सबै शय्यामा अक्सिजन जडान भएकाले अक्सिजन आवश्यक संक्रमितलाई समेत आइसोलेसन शय्यामा राख्न सकिने नगर स्वास्थ्य शाखा संयोजन रामप्रसाद खनालले बताए । जिल्लामा सङ्क्रमित भएका अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले आइसोलेसन निर्माण गर्दा अक्सिजन जडान गर्नुपरेको हो ।

प्रतिक्रिया