न्युनतम पारिश्रमिक वृद्धिप्रति ३ उद्योगी संगठनको आपत्ति

काठमाडौं । सरकारले वृद्धि गरेको न्युनतम पारिश्रमिकप्रति उद्योग व्यापार क्षेत्रका तीन ओटा संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ती जारी गरी यस्तो जनाएका हुन् । २०७८ वैशाख २० गते राजपत्रमा सूचना प्रकाशित यस्तो जनाएका हुन् । कोभिडको लहर सुरु भएर उद्यम व्यवसाय बन्द रहेको अवस्थामा पारिश्रमिक वृद्धि गर्नु उचित नभएको उनीहरुले जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ– ‘अहिले मुलुकका ५६ वटा जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा/लकडाउन जारी छ । यी जिल्लामा सञ्चालित ७ लाखभन्दा बढी व्यवसाय प्रभावित बनेका छन् । २०७८/७९ को साउनदेखि लागु हुने गरी भएको पारिश्रमिक वृद्धिले कोभिडको दोस्रो लहर लम्बिँदै गएर उद्यम व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नभएमा कार्यान्वयन गर्न कठिन हुनेछ । पारिश्रमिक बृद्धि गरिँदा राष्ट्रिय एवं अन्तराष्ट्रिय लगानीकर्ता माझ सकारात्मक संदेश नजाने हो कि भन्नेपनि हाम्रो गम्भीर चिन्ता छ ।’
निजी क्षेत्र स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाई आपूर्ति व्यवस्थालाई सहज बनाउन र यथासम्भव आर्थिक गतिविधिलाई अघि बढाउन प्रयत्नशील रहेको भन्दै अहिले श्रमिकको रोजगारीलाई बचाउने कुरामा जोड दिनु पर्छ ।
यसैगरी राजपत्रमा प्रकाशित सूचनाको बुँदा नम्बर ३ मा उल्लेख भएको व्यवस्थाले कोभिडबाट एक बर्षभन्दा बढी समयदेखि प्रभावित पर्यटन एवं आश्रित उद्योग र साना तथा मझौला उद्यमीलाई थप आहत पर्ने उनीहरुको गुनासो छ ।
‘न्युनतम तलब दिनैपर्ने भनी गरेको व्यवस्थाले यी व्यवसाय÷व्यवसायी थप प्रभावित हुनेछन्,’ विज्ञप्तीमा भनिएको छ, ‘अतः समस्याग्रस्त व्यवसायमा आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा पनि सरकारको हस्तक्षेप नहोस् भन्ने हामी निजी क्षेत्रको धारणा छ ।’








