कर तिर्ने म्याद ६ महिना बढाऊ : घरेलु तथा साना उद्योग महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा भएको बताएको छ ।

कोभिड १९ को दोस्रो महामारीबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्था सूचारु राख्न उद्यमीले अहोरात्र काम गरिरहनु परेको भन्दै महासंघका अध्यक्ष श्याम गिरीले बताए ।

‘पछिल्लो तथ्याङ्क अनुसार महासंघको विभिन्न तहमा रहेका सदस्य उद्यमी मध्ये ताप्लेजुङ्गमा २ जना, काभ्र्रेमा १ जना कैलालीमा २ जना पर्सामा १ जना सुर्खेतमा २ जना बाँकेमा ५ जना, दाङमा २ जना, सल्यानमा १ जना, मकवालनपुरमा १ जना, संखुवासभामा १ जना गरी १८ जनाले कोभिडका कारण ज्यान गुमाइसक्नुभएको छ,’ उनले भने, ‘११९ जना हाम्रा लघु, घरेलु तथा साना उद्यमीहरु कोभिड संक्रमित भई उपचारमा हुनुहुन्छ ।’

स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्ना कामदारको स्वास्थ्य सुरक्षाका लागि समेत सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफना उद्यम व्यवसाय सञ्चालन गर्दै स्थानीय र देशकै आपूर्ति व्यवस्थालाई सुचारु गर्न उनले आह्वान गरेका छन् ।

कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालको बेलामा समेत आन्तरिक राजश्व विभागले जसरी भए पनि कर तिर्न बोलाउनु दुःखद उनले बताए ।

‘अहिले सवै क्षेत्र जस्तै हामी लघु घरेलु तथा साना उद्योगी खुल्ला हिंड्ने र कर तिर्ने अवस्थामा छैनौं,’ उनले भने, ‘त्यसैले हामी सरकारलाई कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउन विनम्र अनुरोध गर्दर्छौ ।’

यस्तो विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व र कर्तव्यलाई समेत विर्सेर केही बैंकहरुले उद्योग व्यवसाय कर्जामा अत्याधिक ब्याज लगाइ उद्यमी व्यवसायीलाई मर्माहत पारिरहेको भन्दै उनले आलोचना गरे । सम्बन्धित बैंकलाई बैंकर्स एसोसिएनसन मार्फत यस्ता निणर्य सच्याई कोभिड प्रकोपको यस परिस्थितिमा सुमधुर व्यवसायिक वातावरण कायम राख्न बैंक तथा वित्तीय संस्थासँग उनले आग्रह गरे ।

राष्ट्र बैंकले प्रस्ताव गरेको पुनकर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानले आफना उद्यम व्यवसायमा काम गर्ने कामदालाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रुपमा कर कट्टा गरी आयकर दाखिला गर्ने उद्यम व्यवसायले मात्रै पुनकर्जा पाउने भन्ने व्यवस्था लघु घरेलु तथा साना व्यवसायीको हकमा लागु हुने अवस्था नरहेको उनको भनाई छ ।

‘यो व्यवस्था ल्याएपछि लघु, घरेलु र साना उद्योगको हकमा लागु गर्न केही समय थप गर्ने भन्ने सहमतिकै बीचमा पहिलो कोरोना कहर शुरु भई उद्योग व्यवसाय घाटामा गएको भन्दै पुनकर्जा कार्यविधिमा खुकुलो व्यवस्था गर्नुपर्ने बताए ।

कामदारको न्यूनतम पारिश्रमिकबारे ट्रेड युनियन, रोजगारदाता र सरकारको बीचमा छलफल चलिरहेको बेलामा कोभिडको दोस्रो कहर शुरु भई सहमतिमा पुग्न नसकेकै अवस्थामा सरकारले एक पक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकी लागु गर्ने मिति समेत राजपत्रमा उल्लेख गर्नु दुःखद भएको उनको भनाई छ ।

त्रिपक्षीय वार्तामा भएको अन्तिम सहमति अनुसार न्युनतम तलबमा ७ सय रुपैयाँ पक्षमा महासंघ रहेको हुँदा यो विषयमा विचार गर्न नेपाल सरकार र ट्रेड युनियनका साथीहसँग महासंघका अध्यक्ष गिरीले आग्रह गरे ।

 

प्रतिक्रिया